मुस्ताङ (मुक्तिनाथ), कात्तिक २० गते ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५,चिम्लेका कर्मा गुरूङ १३ वर्षको हुदाँ बुबा बित्नुभयो । गाउँमा स्याउ बगैँचा विस्तारका लागि पहाडमा खोपेर सिँचाइ ल्याउन बुबाले गरेको मेहनत, भरियालाई बोकाएर ल्याएको स्याउको बेर्नासहित बगैँचा बनाउन दिनरात बुबाले गरेको मेहनतलाई कृषक गुरूङले निरन्तरता दिनुभयो ।
करिब ६ दशकअघि बुबाले परम्परागत रूपमा गर्दै आइरहेको स्याउ खेतीलाई विस्तार गरी अहिले जिल्लाभर सात सय रोपनी क्षेत्रफल बगैँचामा स्थानीय प्रजातिका पाँच हजार र उच्च घनत्व प्रविधिमा आधारित ५७ हजार स्याउका बोट पुगेको छ ।
गत भदौ महिनाको दोस्रो साताबाट बजारमा जान थालेको स्याउ मुखैमा आएको तिहारसम्म बोटबाट स्याउ टिप्दै हुनुहुन्छ ।
स्थानीयदेखि इटालीबाट ल्याइएको एम–९ प्रजातिसम्मका स्याउ, इजरायली आधुनिक कृषि प्रणालीको प्रयोग गर्नुभएका कृषक गुरूङले बुबाले रोपेका बोटबाट पनि अहिले स्याउ बजारमा लैजादैँ हुनुहुन्छ । गुरूङले आफ्नोबाहेक आफन्त र सामुदायिक जग्गा समेत भाडामा लिएर स्याउ खेतीलाई फराकिलो बनाउनुभएको छ ।
गत वर्ष १२ करोडको स्याउ बिक्री गर्नुभएका गुरूङले यस वर्ष पहिलोपटक फल दिने नयाँ बोटको संख्या घेरै भएकाले करिब १६ करोड रूपियाँसम्म बिक्री गर्ने बताउनुभयो । कृषक गुरूङले भन्नुभयो, ‘‘मेहनत अनुसारको फल मिल्न थालेको छ, बुबाले मेहनत गर्दागदैं छोडेर गएको अपुरो बगैंचालाई झनै फराकिलो बनाएको छु ।’’ कृषक गुरूङले हरेक वर्ष १५ हजार उच्च घनत्वको स्याउको बोट बिस्तार गर्नुभएको छ । कृषक गुरूङले पुर्खाले छोडेको पेशालाई निरन्तरता दिन विभिन्न अवसरहरूलाई समेत छोडेर बगैँचामै रमाएको बताउनुभयो । उहाँले बुबाको सपना पुरा गर्न पाएकोमा सन्तुष्ट रहेकोे बताउनुभयो ।
विं.स. २०७७ सालसम्म बगैँचामा स्थानीय प्रजातिको स्याउको बोट मात्रै देखिने गरेकोमा यूरोप तथा मराङ जिल्लाबाट ल्याएको बिरूवा विस्तार गरेपछि अहिले बगैँचामा उच्च घनत्वको स्याउको बोट धेरै छ । कृषक गुरूङले भन्नुभयो, ‘‘कामदारको अभावका कारण स्याउ खेती विस्तारमा समस्या भइरहेको छ, अब प्रविधिको प्रयोग गरी मलजल गर्नुपर्ने अवस्था छ ।’’
गुरूङले ड्रोनको प्रयोगसहित अन्य आधुनिक प्रविधिका बारेमा छोरा यूटिनलाई तालिमसहित स्याउ बिक्रीको जिम्मेबारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘‘हाम्रो स्याउ खेती तेस्रो पुस्तामा प्रवेश गरेको छ, माटो परीक्षणसहित आवश्यक औषधिका लागि समेत प्राविधिकले नियमित परीक्षण गर्ने गरेका छन् ।’’
स्याउ खेतीमा जमिनको तयारीदेखि बिरुवा रोप्ने, हुर्काउने, काँटछाँट गर्ने ५० जना कामदारले काम गर्ने गरेका छन् भने फल लागेपछि टिप्नेसम्मका लागि ३ सयभन्दा बढीलाई ज्याला दिएर काम गराउने गरिएको छ ।
आफन्तको करिब साढे २ सय रोपनी क्षेत्रफल भाडामा लिएर स्याउ खेती विस्तारमा छोराछोरीको समेत लगानीमा कम्पनीबाट बजारीकरण गर्ने गरेको कृषक गुरूङले बताउनुभयो ।
उहाँले स्याउ फार्म बाहेक ६ सय च्याङ्ग्रा, १२ घोडा, १० वटा जर्सी गाई र मौरीपालनबाट समेत अतिरिक्त आम्दानी गर्ने गर्नुभएको छ । मौरीपालनबाट बार्षिक ५ लाख रूपियाँ, स्याउको सुकुटी, दुध बिक्रीबाट २ लाख रूपियाँ आम्दानी हुने गरेकोमा अब अर्गानिक मलका लागि उन्नत जातको गाईको संख्या ५० पु¥याउने योजना रहेको छ ।
स्याउबारीमा मौरीका घारबाट मह उत्पादन गरी प्रति किलोग्राम ३ हजार रूपैयाँमा बिक्री गर्ने गर्नुभएका कृषक गुरूङले मुस्ताङको माटोमा हुने कृषि, पशुपालन र फलफुल खेती आफ्नो रोजाईमा रहेको बताउनुभयो ।
उहाँलाई कृषि तथा पशु विकास कार्यालय,शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोनबाट प्राप्त प्राविधिक सहित अनुदानले सहज भएको छ ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणी अर्यालले मुस्ताङमा सबैभन्दा धेरै स्याउ बिक्री गर्ने कृषक गुरूङले आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको बताउनुभयो । डा. अर्यालका अनुसार कृषक गुरूङले बगैंचाबाट आफ्नै कम्पनीमार्फत सिधै बजारमा लैजाने गरेको बताउनुभयो ।
गुरूङसहित जिल्लाका अगुवा कृषकको बगैँचामा तिहार नजिकै भएपनि स्याउ टिप्ने क्रम जारी रहेको छ । यसपटक प्राकृतिक विपत्तीले करिब दुई साता सडक अवरुद्ध हुदाँ स्याउ बजारमा जान ढिलाइ भएको हो । मुस्ताङमा हरेक स्याउ कृषकले न्यूनतम एक लाख रूपियाँदेखि धेरै स्याउ खेतीबाट आम्दानी गर्ने गरेका छन् ।
उच्च घनत्वको गाला, किङरोड जातको स्याउलाई बगैंचामै प्रति केजी २ सय रुपियाँ र स्थानीय प्रजातिको स्याउ १ सय ८० रुपियाँ बिक्री गर्ने गरिएको छ । मुस्ताङमा स्थानीय स्याउ ८ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएकोे बोटबाट ८ हजार मेट्रिक्टन स्याउ उत्पादन हुने लक्ष्य राखिएको छ ।
स्थानीय प्रजाति प्रति हेक्टर १०.७४ मेट्रिक्टन र उच्च घनत्व २६.१२ मेट्रिक्टन स्याउ उत्पादन हुन्छ । त्यसैगरी उच्च घनत्वको स्याउ खेती ६५ हेक्टर क्षेत्रफलमा फैलिएकोमा ८ हजार ४ सय ९६ मेट्रिक्टन स्याउ उत्पदान हुने अनुमान गरिएको छ । यस वर्ष एक अर्ब १५ करोड रुपियाँको हाराहारीमा बिक्री हुने लक्ष्य छ । रसिला र गुलिया, आकार ठुलो र धेरै दिनसम्म पनि ताजा रहने भएकोले बजार बाह्रै महिना माग उच्च छ ।
