नारायणगढ, असोज ६ गते ।
चितवनमा उद्योग दर्ताका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ । उद्योग दर्ता तथा नवीकरणको सेवा अनलाइनबाटै लिन थालिएपछि सेवाग्राहीलाई समय र खर्चको बचत मात्रै भएन कार्यालय पुग्नुपर्ने झन्झट पनि हटेको हो ।
उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत विनोद पौडेलले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले कार्यलयले उद्योग दर्ता तथा नवीकरणको प्रक्रिया अनलाइनबाट सुरु गरेको जानकारी दिनुभयो । “परीक्षणका रूपमा हामीले एक/दुई दिनअघि नै अनलाइनबाट सुरु गरिसकेका छौँ । यसलाई मङ्गलबारदेखि अनिवार्य बनाउने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो ।
कार्यालयले आफ्नो वेबसाइटमार्फत उद्योग दर्ताको व्यवस्था मिलाएको हो । सेवाग्राहीले आवश्यक कागजात र विवरण अनलाइनमार्फत पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।
सेवाग्राही भरतपुर महानगरपालिका–६ का अनिश श्रेष्ठले अनलाइनमार्फत आफ्नो ‘जाम फुड्स’ मम उद्योग दर्ताको प्रक्रिया पूरा गर्नुभयो । अनलाइन सेवा सुरु भएपछि उद्योग दर्ताका लागि कार्यालयमा धाउनुपर्ने, लाइन बस्नुपर्ने र कागजात बुझाउनुपर्ने झन्झट हटेको उहाँको अनुभव छ । “घरबाटै काम गर्न सकियो । पहिले जस्तो कार्यालय धाउनुपर्ने र झन्झट बेहोर्नुपर्ने अवस्था छैन,” उहाँले भन्नुभयो । कार्यालयका अनुसार चितवनमा हाल करिब १७ हजार उद्योग दर्ता छन् । तीमध्ये करिब १३ हजार उद्योग नवीकरण भएका छन् । यस्तै वाणिज्यतर्फ करिब २३ हजार फर्म दर्ता भएको तथ्याङ्क छ । अहिले उद्योगतर्फ अनलाइन दर्ता सुरु गरिए पनि वाणिज्यतर्फको दर्ता भने गरिएको छैन ।