काठमाडौँ, असोज ६ गते ।
परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उहाँहरुबिच नेपाल र भुटानबिचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटमा दुवै नेताले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो। साथै, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो ।
नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिनुभएको थियो ।