गलकोट (बागलुङ), असोज ६ गते ।
बागलुङ बजारमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, बागलुङ शाखाले छुट मूल्यमा चिनी, नुन, तोरीको तेल र आटा बिक्री गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
आउँदै गरेका दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले कार्यालय परिसरमा पसल सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–४, उपल्लाचौरस्थित कार्यालयमा असोज ५ देखि कात्तिक ३० गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा रहने साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बजार मूल्यभन्दा चिनीमा प्रतिकिलो ३० रुपियाँ, नुनमा प्रतिकिलो दुई रुपियाँ र शुद्ध तोरीको तेलमा प्रतिलिटर ४५ रुपियाँ छुट दिइएको छ ।
उक्त पसलबाट चिनी प्रतिकिलो १०० रुपियाँ, नुन प्रतिकिलो २४ रुपियाँ र शुद्ध तोरीको तेल प्रतिलिटर ३८० रुपियाँमा बिक्री भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रतिव्यक्ति अधिकतम पाँच किलो चिनी, पाँच किलो नुन र पाँच लिटर तेल खरिद गर्न सकिनेछ ।
यस्तै, आटा प्रतिकिलो ७० रुपियाँका दरले पाँच किलोको ३५० रुपियाँमा बिक्री भइरहेको छ । सुपथ मूल्य पसल सार्वजनिक बिदाका दिनबाहेक कात्तिक ३० गतेसम्म सञ्चालनमा रहनेछ ।