फुङ्लिङ (ताप्लेजुङ), असोज ५ गते ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि विद्यालयको पठनपाठन र विद्यार्थीको सिकाइ अवस्थाको अनुगमनलाई तीव्र बनाएको छ । गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) आफैँ विद्यालयका कक्षाकोठामा पुगेर अनुगमनमा सक्रिय हुनुभएको हो ।
गाउँपालिकाका ४० वटै विद्यालयमा सञ्चालन भइरहेको अनुगमनमा शैक्षिक सामग्रीको प्रयोग, शिक्षक तथा विद्यार्थीको नियमित उपस्थिति, बालमैत्री कक्षा सञ्चालन, शिक्षक डायरी र लग बुकको प्रयोग, गृहकार्य परीक्षण तथा विद्यार्थीको सिकाइ स्तरलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
शिक्षा समितिको भदौ २२ गते बसेको बैठकले सबै विद्यालयमा शिक्षक डायरी, लगबुक, विद्यार्थी कार्यतालिका, गृहकार्य परीक्षण, मासिक परीक्षा अभिलेख, विद्यार्थीको सिकाइ स्तर वर्गीकरण र शिक्षकको अध्यापन तालिका अनिवार्य रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
विद्यार्थीलाई घरमै अध्ययन गर्ने वातावरण बनाउन कक्षा शिक्षकले घर अध्ययन तालिका तयार गर्नुपर्ने व्यवस्था पनि गाउँपालिकाले गरेको छ । प्रत्येक पाठ्य विषयको अन्त्यमा कक्षागत परीक्षा र मासिक परीक्षा सञ्चालन गरी अघिल्लो र पछिल्लो परीक्षाको नतिजा तुलना गरेर आवश्यक पृष्ठपोषण दिने व्यवस्था सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष लिम्बूका अनुसार निर्णय र नीति बनाएर मात्र शिक्षा सुधार नहुने भएकाले त्यसको प्रभावकारी कार्यान्वयन कक्षाकोठासम्म पुगे नपुगेको अनुगमन गर्न थालिएको हो । सिकाइ अवस्था र शैक्षिक नतिजामा सुधार ल्याउन अनुगमनसँगै विद्यालयलाई आवश्यक पृष्ठपोषण र सुझाव दिने कार्यलाई पनि प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले विद्यालय अनुगमनमा शैक्षिक क्षेत्रमा कार्यरत दातृ संस्थालाई पनि शिक्षा शाखाका प्रतिनिधिसरह परिचालन गरेको छ । सामर्थ्य फाउन्डेसनका कार्यक्रम प्रबन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार गाउँपालिकाले चार संस्थालाई विभिन्न वडाको शैक्षिक गतिविधि अनुगमनको जिम्मेवारी दिएको छ ।
वडा नं. १ सावादिनमा ह्युमन प्राक्टिस फाउन्डेसन, वडा नं. २ खेजेनिममा एक्सन फर नेपाल, वडा नं. ३ लिङखिम, ४ इखाबु र ५ तापेथोकमा सामर्थ्य फाउन्डेसन तथा वडा नं. ६ लेलेपमा फेज नेपालले अनुगमन गर्नेछन् । वडा नं. ७ ओलाङचुङगोलासहित पालिकाभरका विद्यालयको समग्र अनुगमन गाउँपालिका शिक्षा समितिले गर्ने जनाएको छ ।