सुलीकोट (गोरखा), असोज ५ गते ।
मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्। मनास्लु हिमालको तेस्रो शिविरमा टेन्टभित्र रहेका बेला हिमपहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।
मनास्लु आरोहणका क्रममा शनिबार उनीहरू तेस्रो शिविर पुगेका थिए। राति एक्कासि हिमपहिरो खसेपछि टेन्टभित्र सुतिरहेका उनीहरू हिउँमा पुरिएका हुन्। स्थानीयका अनुसार घटनाका बेला मनास्लु क्षेत्रमा मौसम अचानक बिग्रिएको थियो र ठुलो वर्षासमेत भएको थियो।
मौसम प्रतिकूल बनेपछि जोखिम बढेसँगै अधिकांश आरोही तेस्रो शिविरबाट दोस्रो शिविरतर्फ झरेका थिए। तर गुहा र शेर्पा भने तेस्रो शिविरमै बसेका थिए। रातिको समयमा आएको हिमपहिरोले उनीहरू बसेको टेन्ट नै पुरेपछि दुवै जनाको मृत्यु भएको बताइएको छ।
मकालु एडभेन्चरमार्फत मनास्लु आरोहणका लागि गएका उनीहरूको शव उद्धार गरी सोमबार काठमाडौं ल्याउने तयारी गरिएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको छ।
मनास्लु हिमालमा यो सिजन हिमपहिरो र प्रतिकूल मौसमका कारण आरोहण जोखिमपूर्ण बन्दै गएको छ। केही दिनअघि मात्रै मनास्लु आरोहणकै क्रममा सिंगापुरका ५० वर्षीय आरोही ल उई सेङ र २० वर्षीय आरोहण सहयोगी तासी शेर्पाको मृत्यु भएको थियो। सेङको दोस्रो शिविरबाट तल झर्ने क्रममा मृत्यु भएको थियो भने तासी शेर्पा टेन्टभित्र मृत भेटिएका थिए।
पछिल्ला घटनासँगै यस सिजन मनास्लु आरोहणका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ। यस वर्ष मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन्। ठुलो संख्यामा आरोही मनास्लु क्षेत्रमा रहेका बेला लगातार देखिएको खराब मौसम र हिमपहिरोका घटनाले आरोहीको सुरक्षामाथि थप प्रश्न उठाएको छ।
मनास्लु हिमाल विश्वका अग्ला हिमालमध्ये एक भएकाले हरेक वर्ष ठुलो संख्यामा स्वदेशी तथा विदेशी आरोही यहाँ पुग्ने गर्छन्। तर मौसममा आउने अचानक परिवर्तन, हिमपहिरो तथा उच्च हिमाली क्षेत्रमा देखिने अन्य जोखिमका कारण मनास्लु आरोहण चुनौतीपूर्ण मानिन्छ।