काठमाडौँ, भदौ २३ गते ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।
बुधबार देशभर साधारणतया बादल लाग्नेछ भने मधेस, कोशी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बिहीबार पनि कोशी, बागमती, गण्डही र कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सो दिन देशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।