alliance khabar

बुधबार, कार्तिक ११, २०८३

काठमाडौँ, कात्तिक ११ गते ।

अगाडि घन्टी झुन्डिएको । पछाडि खिया उप्केका पानी फाल्ने साना पम्प । बिचमा पानी ट्याङ्की, माथि फलामको भर्‍याङ । हेर्दा सानो जिप जस्तो त्यो सवारी एक सय नौ वर्ष पुरानो, नेपालको पहिलो दमकल हो । नेपालको एउटा जुगको इतिहास बोकेको सो दमकललाई यताउति सार्न मानिसको साहरा चाहिन्छ । मङ्गलबार त्यसै गरी अन्यत्र सार्न अर्को सवारीले तानेर चोकमा पुर्‍याइयो । त्यसपछि धकेल्दै तयार पारिएको ठाउँसम्म पुर्‍याइयो । त्यो पुरानो जिनिसको फोटो, भिडियो खिच्ने हेरालुहरूको भिड हेर्नलायक थियो ।

तिनै ऐतिहासिक दमकललाई जुद्ध वारुण यन्त्र सङ्ग्रहालयमार्फत अवलोकनका लागि खुला गरिने भएको छ । नेपालको पहिलो र सबैभन्दा पुरानो दमकल ‘जुद्ध वारुण यन्त्र’ काठमाडौँ, वसन्तपुरस्थित कार्यालयमा सङ्ग्रहालय बनाएर आमनागरिकलाई अवलोकनका लागि सार्वजनिक गरिने भएको हाे ।

यसका लागि हालसालै सबलीकरण गरिएको वारुण यन्त्रको पुरानो भवनको वसन्तपुरतर्फको भागलाई व्यवस्थित गर्दै अवलोकनका लागि खुला गरिन लागेको काठमाडौँ महानगरपालिका विपत् व्यवस्थापन शाखाका प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुराना दमकललाई सिसाको घरभित्र राखेर वरिपरि घुम्दै हेर्न मिल्ने गरी अवलोकनको व्यवस्था मिलाउने छौँ ।” अवलोकनका लागि खुला गर्नुअघि ऐतिहासिक महत्वका दमकललाई पहिलेको स्वरूपमा फर्काउन मर्मतसम्भार जरुरी देखिएको छ । अवलोकनका लागि राखिएका दमकललाई हेर्दै सेल्फी र तस्बिर लिन मिल्ने बनाइने उहाँले जानकारी दिनुभयो ।

यस कार्यका लागि काठमाडौँ महानगरपालिका वडा नम्बर २३ ले सघाउने भएको छ । वडाध्यक्ष मचाराजा महर्जनले भन्नुभयो, “स्वरूप फर्काउन दमकलको डेन्टिङ, पेन्टिङ गर्छौं । त्यसपछि सिँगारेर प्रदर्शनीका लागि राख्छौँ ।” दमकलको अग्रभागमा मेरी वेदर, मोरिस कमर्सियल लन्डन लेखिएको छ ।

नेपालमा विसं १९९४ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर जङ्गबहादुर राणाले वसन्तपुरमा आफ्नै नाममा जुद्ध वारुण यन्त्र सञ्चालनमा ल्याएर  नेपालमै पहिलो दमकल भित्र्याउनुभएको थियो । विसं १९९४ मा काठमाडौँको ऐतिहासिक सेतो दरबारमा भएको भीषण आगलागीले ठुलो क्षति भएपछि जुद्ध शमशेरले बेलायतबाट दमकल झिकाउने निर्णय गर्नुभएको थियो ।

वारुण यन्त्रका कर्मचारी लीलाराज थापाका अनुसार त्यतिबेला काठमाडौँ उपत्यका सडक सञ्जाल तराईको भूभाग र भारतसँग जोडिएको थिएन । त्यसैले बेलायतबाट मगाइएका तीन वटा दमकललाई मकवानपुरको भीमफेदीबाट पाटपुर्जा फुकालेर मानिसहरूले काँधमा बोकेर काठमाडौँ उपत्यका भित्र्याएका थिए  । विसं २००१ मा भक्तपुर र ललितपुरमा जुद्ध वारुण यन्त्रको कार्यालयसहित दमकल विस्तार गरिएको थियो । वसन्तपुरस्थित वारुण यन्त्रमा बेलायतबाहेक जर्मन मोडेलका सानो र ठुलो गरी दुई वटा दमकल छन् । उतिबेलाको ३५० लिटर क्षमताको सानो दमकल अहिले काम लाग्दैन । ठुलो फायर ब्रिगेडलाई भने इन्जिन फेरेर चलाउन मिल्ने भए पनि खर्च व्यवस्थापनको समस्या छ ।

ललितपुर र भक्तपुरमा पनि सङ्ग्रहालयको परिकल्पना

भक्तपुरको दुधपाटीमा स्थापित जुद्ध वारुण यन्त्रमा पुराना राणाकालीन दमकल टहरामा अलपत्र छन् । सिद्धपोखरीको छेउमा टिनको टहरामा राखिएका तीन वटा दमकलमध्ये ठुलो दमकललाई टिपरको इन्जिन हालेर चलाउने प्रस्ताव गृह मन्त्रालयमा पुर्‍याइएको छ । वारुण यन्त्रका प्रमुख विजयप्रसाद धौवडेलले भन्नुभयो, “सानो दमकल रकम खर्चिएर बनाए पनि चलाउन सक्ने अवस्थामा छैन ।” त्यसैले सङ्ग्रहालय बनाएर राख्न पहल भइरहेको जानकारी उहाँले दिनुभयो ।

ललितपुरमा बेलायतको एउटा पुरानो दमकल मर्मतपछि चट्ट पारेर सजाइएको छ । जुद्ध वारुण यन्त्र ललितपुरका प्रमुख नारायण व्यञ्जनकारका अनुसार १०६ वर्ष पुरानो दमकल मर्मतपछि सजाएर राखिएको हो । सङ्ग्रहालयमा राखेर अवलोकनका लागि खुला गर्ने विषयमा छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ