सर्लाही, असार १० गते ।
सर्लाहीको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्व ४७ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।
मङ्गलबार आरम्भ नगरसभाको १६ औँ अधिवेशनमा नगरउपप्रमुख कल्पनामाया पाख्रिनले एक अर्व ४७ करोड ९७ लाख ९९ हजार ३७० रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अहिलेका जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट पनि हो ।
लालबन्दी नगरपालिकाले १७ वटा वडालाई ९७ लाखदेखि एक करोड ४५ लाख रुपियाँसम्म बजेट विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशु, आर्थिक विकास, सामाजिक विकासलगायतलाई प्राथमिकता दिएर बजेट तयार पारिएको नगरप्रमुख वासुदेव अधिकारीले बताउनुभयो ।
नीति तथा कार्यक्रम र बजेट अध्ययन गर्न नगरसभा सदस्यहरुलाई एक साताको समय दिइएको छ । असार २६ गतेसम्म बजेट पारित गर्ने तयारी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले जानकारी दिनुभयो ।
सर्लाहीमा अहिले स्थानीय तहहरु धमाधम बजेट प्रस्तुत गर्ने कार्यमा व्यस्त छन् । पालिकाहरुले आज असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट गाउँ एवं नगर सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
समयमै बजेट नल्याउने पालिकाको अनुदान कम पाउने व्यवस्था रहेको छ । सर्लाहीका २० पालिकामध्ये आधाजसो पालिकाले यसअघि नै गाउँ तथा नगरसभा प्रारम्भ गरिसकेका छन् । बाँकी रहेका अधिकांश पालिकामा आज गाउँ तथा नगर सभा प्रारम्भ गरिँदै छ ।