alliance khabar

मंगलबार, आषाढ ०९, २०८३

चितवन, असार ९ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मङ्गलबार बन्दसत्रको कार्यक्रम हुँदै छ । सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि मङ्गलबारसम्मका लागि स्थगित गरिएको हो ।

पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचयपत्र छपाइको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र सार्नु परेको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिनुभयो । महाधिवेशन स्थल भरतपुरमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता झा र केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्दसत्र स्थगित गर्नुको कारणबारे जानकारी गराउनुभयो ।

उहाँहरूले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको आधिकारिक विवरण यकिन गर्ने, नामावली प्रमाणीकरण गर्ने तथा परिचयपत्र वितरण कार्यलाई व्यवस्थित बनाउन आवश्यक समय लागेकाले सोमबारका लागि निर्धारित कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

प्रवक्ता झाले महाधिवेशन पार्टीको सर्वोच्च निर्णय गर्ने थलो भएकाले प्रतिनिधि व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन विशेष सावधानी अपनाइएको बताउनुभयो । उहाँले देशभरका विभिन्न जिल्ला र प्रदेशबाट आएका प्रतिनिधिहरूको विवरण रुजु गर्ने काम जारी रहेको र सो प्रक्रिया सम्पन्न नभएसम्म बन्द सत्र सुरु गर्न उपयुक्त नहुने निष्कर्षमा पार्टी पुगेको जानकारी दिनुभयो ।

“महाधिवेशनको वैधानिकता र विश्वसनीयता प्रतिनिधिको सही अभिलेख र सहभागितासँग जोडिएको विषय हो,” उहाँले भन्नुभयो, “हामी प्रतिनिधिको विवरण, सदस्यता र परिचयपत्र वितरण प्रक्रियालाई पूर्ण रूपमा व्यवस्थित बनाएर मात्रै बन्द सत्र सञ्चालन गर्न चाहन्छौँ ।” प्रवक्ता झाले खास गरी मधेश प्रदेशबाट आउने प्रतिनिधिको सङ्ख्याको विषयमा समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मौखिक रूपमा पाँच सयभन्दा धेरै भन्ने आएको छ । मौखिक रूपमा हुँदैन, वैधानिक रूपमा के कति सङ्ख्यामा प्रतिनिधि हो ? सोको विवरण यकिन भएपछि मात्र हामी प्रक्रियामा जाने छौँ । प्रतिनिधिको विषयमा मङ्गलबार दिउँसोसम्म टुङ्गो लगाएर मात्र हामी बन्दसत्र सुरु गर्छौं ।” अहिले महाधिवेशनमा कोही सहभागी हुन पाएनन् भने पाँच वर्ष वञ्चित हुनुपर्ने भएकाले एक दिन पर सारेको बताउँदै प्रवक्ता झाले योसँगै महाधिवेशन थप एक दिन लम्बिने बताउनुभयो ।

निर्वाचन आयोगका प्रमुख केसीले पनि प्रतिनिधि परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार साँझ ७ बजेदेखि तयार भइसकेका परिचयपत्र प्रतिनिधिहरूलाई वितरण गरिने छ । बाँकी परिचयपत्र मङ्गलबार बिहान वितरण गरिने छ । सम्पूर्ण प्रतिनिधिले परिचयपत्र प्राप्त गरिसकेपछि मात्र बन्दसत्र सञ्चालन गरिने उहाँले बताउनुभयो ।

निर्वाचनसम्बन्धी आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै केसीले प्रतिनिधि व्यवस्थापनको काम सम्पन्न हुनेबित्तिकै महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढ्ने स्पष्ट पार्नुभयो । “निर्वाचन आयोग तयारी अवस्थामा छ । प्रतिनिधि परिचयपत्र वितरणको काम सम्पन्न भएपछि बन्दसत्र सुरु हुने छ र त्यसपछि विधानले तोकेबमोजिमका प्रक्रिया अघि बढाइने छन्,” उहाँले भन्नुभयो । पार्टीले मङ्गलबार दिउँसो १२ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी गरेको जनाएको छ । बन्दसत्रमा महाधिवेशनका विभिन्न प्रस्तावमाथि छलफल हुनुका साथै पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया पनि अगाडि बढ्ने छ । महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहे पनि आवश्यक परे निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गरिने पार्टीले जनाएको छ ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको सङ्गठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा, सङ्गठन विस्तारको रणनीति र विधानसम्बन्धी विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यसैबिच बन्दसत्र स्थगित हुँदा प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूलाई परेको असुविधाप्रति पार्टीले क्षमायाचना गरेको छ । केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिले संयुक्त रूपमा जारी गरेको सूचनामा प्रतिनिधि परिचयपत्र वितरण कार्य सम्पन्न गर्न आवश्यक समय लागेकाले कार्यक्रम सार्नु परेको उल्लेख गर्दै सबैमा धैर्य, संयमता र सहयोगका लागि धन्यवाद व्यक्त गरिएको छ ।

रास्वपाको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ । नेतृत्व चयन र पार्टीको भावी राजनीतिक दिशाबारे महìवपूर्ण निर्णय हुने अपेक्षाबिच प्रतिनिधि परिचयपत्र व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन बन्दसत्र एक दिन पर सारिएको पार्टी नेतृत्वले जनाएको छ । अब मङ्गलबार दिउँसोदेखि बन्दसत्र सुरु भई महाधिवेशनका मुख्य कार्यसूचीमाथि छलफल र निर्णय प्रक्रिया अगाडि बढ्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल