alliance khabar

बुधबार, आषाढ ०३, २०८३

न्युयोर्क, असार ३ गते ।

विश्वकप फुटबलको उपाधि जितको खोजीमा अमेरिका पुगेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह ‘के’ मा आफ्नो पहिलो खेल बुधबार कङ्गोविरुद्ध खेल्ने छ । सधैँ उपाधि दाबेदारका रूपमा प्रस्तुत भए पनि पोर्चुगलले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । यसपालि पनि पोर्चुगललाई दाबेदारका रूपमा लिइएको छ ।

सन् १९९६ मा तेस्रो स्थान पोर्चुगलको विश्वकपमा सबभन्दा उत्कृष्ट प्रदर्शन हो । सन् २००६ मा पोर्चुगलले चौथो स्थान बनायो । यस टिममा सधैँ एक सेए क खेलाडीको उपस्थिति हुने हुँदा पोर्चुगललाई विश्वकपमा ‘अन्डर एचिभर’ भनिन्छ । हुन त पोर्चुगलले युरो–२०१६ जितेर आफ्नो क्षमता देखाइसकेको छ तर रोनाल्डोले साँच्चिकै चाहेको ट्रफी विश्वकप हो । यद्यपि प्रभावशाली खेलाडीहरू भरमार रहेको पोर्चुगलमा ४१ वर्षीय रोनाल्डोले पहिलो रोजाइमै स्थान पाउँछ भन्नेमा शङ्का छ ।

विश्वकपअघि तीन मैत्री खेलमा अमेरिका, चिली र नाइजेरियालाई हराएको पोर्चुगलले विश्वकप छनोटको अन्तिम खेलमा आर्मेनियालाई ९–१ ले पराजित गरेको थियो तर सोही खेलअघि पोर्चुगलले आयरल्यान्डसँग पराजय पनि बेहोरेको थियो । त्यसैले पोर्चुगलको विश्वकप उपाधिमा दाबेदारीमा प्रश्नचिह्न पनि देखिएको छ । यद्यपि कङ्गोले पोर्चुगललाई हराएमा सो विश्वकपकै स्तब्धकारी नतिजा हुने छ । विश्वकपअघिको वार्मअप खेलमा कङ्गोले डेनमार्कसँग गोलरहित बराबरीमा खेलेको थियो भने चिलीसँग २–१ ले पराजय बेहोरेको थियो । कङ्गोले ५२ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै छ । हालै भएको अफ्रिकन कप अफ नेसन्समा अन्तिम १६ सम्मको यात्रा गर्ने कङ्गोले पछिल्ला चार खेलमा एक हार मात्र बेहोरेको छ ।

इङ्ग्ल्यान्ड–क्रोएसिया

प्रशिक्षक टोमस टुचेल इङ्ग्ल्यान्डको विश्वकप जित्ने महत्वाकाङ्क्षाबारे खुलिसक्नुभएको छ । समूह ‘एल’ मा क्रोएसिया जस्तो परम्परागत प्रतिद्वन्द्वी भए पनि इङ्ग्ल्यान्डलाई समूह विजेताको प्रबल दाबेदार मानिएको छ । सन् १९६६ को विजेता इङ्ग्ल्यान्ड विश्वकप उपाधि दाबेदारमध्ये एक पनि हो । विश्वकप छनोट चरणमा बिनागोल बेहोरी आठै खेल जितेर इङ्ग्ल्यान्ड यस प्रतियोगितामा आएको हो । प्रशिक्षक टुचेलले अनपेक्षित रूपमा फिल फोडेन र कोल पाल्मर जस्ता खेलाडीलाई बेवास्ता गर्नुभएको छ तर पनि हेरी केन, युड बलिङघम, बुकायो साका, डेक्लन राइस जस्ता सुपर स्टार खेलाडीका कारण इङ्ग्ल्यान्ड निकै बलियो देखिन्छ । यद्यपि यो टिम धेरै कीर्तिमान गोल स्कोरर केनमा निर्भर पनि छ । यसै गरी विश्वकप छनोटमा क्लिनसिट राखे पनि इङ्ग्ल्यान्डको डिफेन्सलाई बलियो मानिएको छैन ।

पछिल्ला दुई युरोपेली च्याम्पियनसिपमा फाइनल खेलेकोले पनि इङ्ग्ल्यान्ड यस पटक उपाधि जितेर सो पीडा मेटाउने दाउमा छ । यद्यपि पहिलो खेलमै क्रोएसियालाई हराउनु इङ्ग्ल्यान्डलाई सहज हुने छैन । सन् २०१८ को विश्वकपको सेमिफाइनलमा क्रोएसियाले इङ्ग्ल्यान्डलाई हराएर उपाधि भिडन्त गरेको थियो । ४० लाख मात्र जनसङ्ख्या भएको क्रोएसिया विश्व वरीयतामा ११ औँ स्थानमा रहेको टिम हो । सन् १९९८ मा विश्वकपमा पदार्पणमै तेस्रो स्थान हात पारेर क्रोएसियाले विश्वलाई आश्चर्यचकित बनाएको थियो । त्यसपछि सन् २०१८ मा फाइनल खेलेको क्रोएसियाले पछिल्लो संस्करणमा पनि तेस्रो स्थान हासिल गरेको थियो । विश्वकप छनोटमा पनि क्रोएसिया अपराजित रहेको थियो । उसले आठमध्ये सातमा जित र एक बराबरीमा खेलेको हो । क्रोएसियाको टिममा ४० वर्षीय भेट्रान मिडफिल्डर लुका मोड्रिचलगायत इभान पेरिसिच, जोस्को ग्वार्डियोल र माटियो कोभासिच जस्ता विश्वस्तरीय फुटबलर रहेको छ ।

घाना–पनामा

विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘एल’ मा घानाले आफ्नो पहिलो खेलमा बुधबार पनामाको सामना गर्ने छ । विश्व वरीयतामा ७४ औँ स्थानमा रहेको घानासँग सन् २०१० मा विश्वकपको क्वाटरफाइनल खेलेको अनुभव छ । यद्यपि घाना सन् २०१४ र २०२२ मा समूह चरणबाटै बिदा भएको थियो । यस पटक म्यान्चेस्टर सिटीका विन्गर एन्टोनी सेमेन्योको साथमा यो टिम बलियो देखिन्छ ।

यसै गरी फिफा वरीयतामा ३३ औँ स्थानमा रहेको कन्केकाफको टिम पनामाले एक पटक मात्र विश्वकप खेलेको छ । सन् २०१८ मा विश्वकप खेल्दा उसले समूह चरणमै तीनै खेल

हारेको थियो । जसमध्ये इङ्ग्ल्यान्डसँगको ६–१ को लज्जास्पद पराजय पनि छ । पनामा केन्केकाफ छनोटको दोस्रो चरणमा खेलेका छ खेलमा तीन जित र तीन बराबरी सहित अविजित रहेर विश्वकपमा चयन भएको हो । पनामालाई कन्केकाफ क्षेत्रमा हेभिवेट फुटबल टिमका रूपमा लिइन्छ ।

उज्बेकिस्तान–कोलम्बिया

एसियाको उज्बेकिस्तानले यसपालि लामो समयदेखिको पर्खाइलाई अन्त्य गर्दै विश्वकपमा स्थान बनाएको छ । उसले आफ्नो ऐतिहासिक खेल मेक्सिको सिटीमा बुधबार कोलम्बियाविरुद्ध खेल्ने छ । यी दुवै टिमले पोर्चुगल र कङ्गो पनि भएको समूहबाट उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएका छन् ।

नवप्रवेशी उज्बेकिस्तानको सामना गर्ने कोलम्बिया भने विश्वकपको अनुभवी टिम हो । सातौँ पटक विश्वकप खेल्न लागेको कोलम्बिया कोपा अमेरिकाको उपविजेता पनि हो । कोलम्बियाले यसपालि १२ वर्षअघिको विश्वकपमा राखेको गौरव दोहो¥याउने लक्ष्य राखेको छ । सो समय कोलम्बिया क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो ।

सन् २०१४ र २०१८ मा पनि कोलम्बियाले समूह चरणमा निकै राम्रो खेलेको थियो । यी दुई विश्वकप अन्तर्गत समूह चरणमा खेलेका छमध्ये कोलम्बियाले पाँच खेल जितेको थियो तर पछिल्लो संस्करणमा भने कोलम्बिया छनोट हुन सकेन । यसपालि छनोटमा ब्राजिललाई समेत हराएर कोलम्बिया दक्षिण अमेरिकी समूहमा तेस्रो स्थानमा रहेर विश्वकपमा खेल्न योग्य भएको हो । लुइस डियाज र हामेस रोड्रिगेज जस्ता खेलाडीको साथमा विश्व वरीयतामा १३ औँ स्थानमा रहेको कोलम्बिया यसपालि बलियो देखिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल