बनेपा, जेठ २७ गते ।
करिब २० महिनादेखि बिपी राजमार्गमा सञ्चालन हुने सवारीसाधन सञ्चालनमा रोक लगाउने तथा सवारी होल्ड गर्ने अभ्यास गरिँदै आएको छ । २०८१ असोज १०/१२ गतेको रोसी खोलामा आएको बाढीले बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक बाढीले क्षति गरेपछि दर्जनाँै पटक सवारी सञ्चालनमा रोक लगाउनुका साथै सवारी होल्ड गरिँदै आएको हो ।
बाढीले क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणको काम भइरहेको र साबिकको स्थानबाट सवारी आवागमन सम्भव नभएपछि रोसीखोलामा अस्थायी डाइभर्सन सडक सञ्चालन गरेर यातायात सुचारु गरिँदै आएको छ । बनेपा, धुलिखेल, पनौती, बेथानचोक, नमोबुद्ध तथा रोसीमा सामान्य वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले सवारी सञ्चालनमा रोक तथा सवारी होल्ड गर्दै आएको हो ।
बनेपा, पनौती र धुलिखेललगायतको रोसीखोलाको माथिल्लो तटीय क्षेत्रमा वर्षा भएसँगै मङ्गलबार सवारीसाधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, भकुन्डेबेँसीमा होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । दिउँसो भएको वर्षाका कारण रोसी गाउँपालिका–७, चारसयबेँसीमा व्रmसरको लेदो आएका कारण केही घण्टा राजमार्ग अवरुद्ध भएको र वर्षा रोकिएसँगै लेदो हटाई सडक खुलाइएको प्रहरीले जनाएको छ ।
वर्षासँगै निर्माणाधीन बिपी राजमार्गको विभिन्न स्थानमा आउन सक्ने पहिरो र बाढीले हुन सक्ने क्षति कम गर्न जिल्ला सुरक्षा समितिले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ । यस्तै प्रशासनले वर्षाका समयमा सवारीसाधनलाई सुरक्षित स्थानमा होल्ड गर्दै बाढी कम भएपछि यातायात सुचारु गर्दै आएको छ । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले हाल बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन खण्डमा पुनर्निर्माणको काम, सिन्धुलीतर्फ एक खण्डको काम भइरहेको बताउनुभयो ।
उहाँले काभ्रेपलाञ्चोकतर्फको एक खण्डमा जाइकाले पुनर्निर्माण गर्ने सडकखण्डमा भने वर्षापछि मात्रै पुनर्निर्माणको काम हुने बताउनुभयो । उहाँले वर्षाको समयमा प्रशासनले सवारी होल्ड गर्दै आएको बताउँदै बाढी कम हुनेबित्तिकै बाढीले क्षति गरेको स्थानमा तुरुन्त अस्थायी डाइभर्सन बनाएर सडक सुचारु गरिँदै आएको बताउनुभयो ।
सिडिई योगेशले काभ्रेपलाञ्चोकतर्फ पुनर्निर्माण सुरु गरिएका तीन खण्डमा हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकतर्फका तीन खण्डमा हाल आरसिसी पर्खाल, सडक चौडा बनाउने, ड्रेन बनाउने, प्ल्म्प पर्खाल, कलभर्ट लगाउने र पर्खाल लगाइएका स्थानमा माटो भर्ने काम भइरहेको बताउनुभयो ।