बुटवल, जेठ २५ गते ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दुई प्रदेशका बिरामी उपचारका लागि आउने गर्छन् ।
पछिल्लो समय अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ भने अस्पतालले समेत बिरामीको सुविधालाई ध्यान दिँदै सेवा विस्तार गरेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला र गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, पर्वत, नवलपुरका बिरामी अस्पतालमा उपचारका लागि आउँछन् ।
अस्पताल प्रशासनले बिरामीलाई सेवामा सहजता होस् भन्ने उद्देश्यले बिहान ७ देखि दिउँसो ३ बजेसम्म टिकट खुला गरेको छ । यसअघि बिहान ११ बजेसम्म मात्रै टिकट खुला गर्ने गरिएको थियो । यसै गरी अस्पतालले बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म बिरामीको परीक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो यो अस्पतालले सेवालाई विशिष्टीकृत गर्दै लगेको र उपकरण थप गर्नुका सेवा सरलीकरणलाई समेत जोड दिएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विष्णु गौतमले बिरामीको चाप हरेक दिन बढिरहेको र चापलाई थेग्ने गरी सेवामा ध्यान दिइएको बताउनुभयो । उहाँले अहिले एकैदिनमा करिब एक हजार छ सय बिरामीले सेवा लिने गरेको बताउनुभयो । मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौतमले लुम्बिनी प्रादेशिक अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएकाले सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले लुम्बिनी प्रदेशकै ठुलो अस्पतालमा थप उपकरण जडान तथा सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल विकास समितिले पहल गर्दै आएको बताउनुभयो ।