काठमाडौँ, जेठ ८ गते ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा आज (शुक्रबार) नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा भइरहेको शृङ्खलाको अन्तिम खेलमा नेपाल जित निकाल्दै सुखद् अन्त्य गर्ने लक्ष्यमा छ । यसअघि गत शनिबार भएको पहिलो भेटमा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा ओपनर कुशल भुर्तेलले अविजित शतकीय इनिङ्स खेलेका थिए ।
यस शृङ्खलामा नेपालले मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजित भए पनि नेपालले पछिल्ला दुई खेलमा सानदार जित दर्ता गरेको थियो । तीन खेलमध्ये दुईमा जित हात पारेको नेपाल आजको खेलमार्फत घरेलु मैदानको फाइदा उठाउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ ।
यता, भ्रमणकारी टोली अमेरिका भने अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा छ । बुधबार भएको खेलमा स्कटल्यान्डमाथि फराकिलो जित निकालेकाले अमेरिकाको मनोबल उच्च देखिन्छ । यद्यपि त्रिवि मैदानमा अमेरिकाको तथ्याङ्क कमजोर छ ।
यस मैदानमा नेपाल र अमेरिकाबीच भएका तीनवटै एकदिवसीय (ओडिआई) खेलमा घरेलु टोली नेपाल विजयी भएको छ । लिग–२ अन्तर्गत यो चक्र नेपालका लागि अन्तिम घरेलु खेल हो ।
यस शृङ्खलापछि नेपालले आगामी दुई त्रिकोणात्मक शृङ्खला विदेशी भूमिमा खेल्ने तालिका रहेको छ । त्यसैले विदेशी भ्रमणअघि घरेलु मैदानमा जित निकाल्नु नेपालका लागि महत्त्वपूर्ण मानिएको छ ।