alliance khabar

मंगलबार, जेठ ०५, २०८३

भैरहवा, जेठ ५ गते ।

सङ्घीय सरकारका पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आगामी दसैँभित्र वास्तविक सुकुमवासीलाई लालपुर्जा वितरण गरिसक्ने बताउनुभएको छ । रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत विभिन्न स्थानमा मतदाता तथा स्थानीयसँगको भेटघाटमा उहाँले सरकारले सुकुमवासी समस्या स्थायी रूपमा समाधान गर्ने गरी योजनाबद्ध रूपमा काम अघि बढाएको बताउनुभएको हो ।

उहाँले सुकुमवासीका नाममा विभिन्न भ्रम फैलाएर आन्दोलनका लागि उक्साउने काम भइरहेको उल्लेख गर्दै त्यस्ता हल्लाको पछि नलाग्न स्थानीयलाई आग्रह गर्नुभयो । “अहिले आन्दोलन गर्नुको कुनै अर्थ छैन,” उहाँले भन्नुभयो, “सरकारले वास्तविक सुकुमवासीलाई कुनै समस्या पार्दैन । बाहिर आएका धेरै कुरा केवल हल्ला मात्रै हुन् ।”

मन्त्री लम्सालले आफूहरू भाषणभन्दा काममा विश्वास गर्ने भएको दाबी गर्नुभयो । उहाँले सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रीपरिषद् बैठकबाटै सुकुमवासी समस्या समाधानलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

“हामी गफ दिने होइन, काम गरेर देखाउने समूह हौँ,” उहाँले भन्नुभयो, “पहिलो क्याबिनेट बैठकमै सुकुमवासी समस्या सधैँका लागि समाधान गर्ने लक्ष्यसहित पाँच वटा कार्ययोजना बनाएका छौँ ।”

उहाँका अनुसार सरकारले एक सय दिनभित्र गरिने कामको स्पष्ट कार्यतालिका बनाएर अघि बढिरहेको छ । उहाँले नापजाँच, तथ्याङ्क सङ्कलन, वास्तविक सुकुमवासीको पहिचान, जग्गा व्यवस्थापन तथा लालपुर्जा वितरण प्रक्रियालाई तीव्र बनाइएको बताउनुभयो ।

“हामी टाइमलाइन अनुसार अघि बढिरहेका छौँ,” मन्त्री लम्सालले भन्नुभयो, “दसैँसम्म धेरै जसो वास्तविक सुकुमवासीले लालपुर्जा हात पार्ने गरी काम भइरहेको छ । त्यसैले आन्दोलनभन्दा पनि प्रक्रियामा विश्वास गर्न आवश्यक छ ।”

काठमाडौँको अवस्था अन्य ठाउँभन्दा फरक रहेको उल्लेख गर्दै उहाँले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकको सुरक्षाका लागि वैकल्पिक व्यवस्थासहित स्थानान्तरण गरिएको दाबी गर्नुभयो ।

“अरूलाई ढाँटेर हुँदैन,” उहाँले भन्नुभयो, “वर्षायाममा मानिसको ज्यान जाने, ठुलो क्षति हुने अवस्था भएकाले सरकारले विकल्प खोज्नु परेको हो । त्यसैले वैकल्पिक व्यवस्था गरेर मात्रै बस्ती खाली गराइएको हो ।”

मन्त्री लम्सालले सरकारले सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित काम गरिरहेको पुनः दोहो¥याउनुभयो । उहाँले भूमिहीन र वास्तविक पीडितलाई राज्यबाट न्याय दिलाउने अभियानमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।

स्थानीयवासीसँगको भेटमा उहाँले विकासनिर्माण, पूर्वाधार विस्तार तथा जनताको आधारभूत समस्यालाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । जनताले देख्ने गरी परिणाम दिने योजनामा सरकार केन्द्रित रहेको उहाँको भनाइ थियो । उहाँले आगामी केही महिनाभित्र भूमिसम्बन्धी धेरै जटिल समस्या समाधान हुने दाबी गर्दै जनतालाई संयमित र विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल