काठमाडौँ,वैशाख १८ गते ।
२५७० औँ बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले विशेष कार्यव्रmमको आयोजना गरेको छ ।
सो अवसरमा नेपाली राजदुतावासकी कार्यवाहक राजदूत श्रीमती रोशन खनालले शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाणको पवित्र दिनको रूपमा बुद्ध जयन्ती मनाइदैआएको चर्चा गर्दै युनेस्कोको विश्व सम्पदा स्थल र भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको महत्वबारे जानकारी गराउनुभयो ।
उहाँले शान्ति, सदभाव, उदारता र दुःखबाट मुक्तिका लागि भगवान बुद्धको गहन शिक्षा अझ महत्वपूर्ण भएको बताउनुभयो । चीनको बौद्ध सङ्घका उपाध्यक्ष तथा बेइजिङ लिङआङ मन्दिरका प्रमुख भिक्षु चाङ जाङले बौद्ध धर्मद्वारा जोडिएको चीन–नेपालबिचको प्रगाढ मित्रतामाथि प्रकाश पार्दै यस सम्बन्ध दुई देशका जनताबिच पनि अझ बलियो बन्दै गएको बताउनुभयो ।
उहाँले नेपाल भगवान बुद्धको जन्मस्थल मात्र नभएर विश्वभरका बौद्धहरूको हृदयमा रहेको एक पवित्र र सम्मानित भूमि भएको बताउनुभयो । राजदूतावास परिसरमा आयोजित कार्यव्रmममा बुद्धको मूर्ति अगाडि भिक्षुहरूले विश्वव्यापी शान्ति र सद्भावको लागि प्रार्थना गरेका थिए । प्रार्थनापछि योगगुरु रमेश सिटौलाले योग पनि प्रस्तुत गर्नुभएको थियो ।
कार्यव्रmममा जनवादी गणतन्त्र चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, राजदूतहरू, बेइजिङस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेपाली समुदायको उपस्थिति रहेको थियो ।