alliance khabar

शनिबार, बैशाख ०५, २०८३

तनहुँ, वैशाख ५ गते  ।

तनहुँमा राहदानी लिनका लागि घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीको घर–घरमै पुगेर राहदानी वितरण सुरु गरेकाले अन्त्य भएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि जिल्ला हुलाक कार्यालयसँगको सहकार्यमा सेवाग्राहीको दैलोमै राहदानी पुर्‍याउने व्यवस्था मिलाएको छ ।

नेपाल सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० बुँदे कार्यसूची अनुरुप ‘घरमै राहदानी उपलब्ध गराउने’ घोषणालाई कार्यान्वयन गर्दै जिल्लामा यस सेवाको सुरुवात गरिएको हो । सेवाको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले भन्नुभयो, “सरकारी सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याउने सरकारको नीतिअनुसार हामीले यो सेवा सुरु गरेका छौँ । अब हुलाक कार्यालयमार्फत सेवाग्राहीलाई घरमै राहदानी उपलब्ध गराउने कार्यले निरन्तरता पाउनेछ ।”

प्रजिअ तिवारीका अनुसार राहदानीका लागि आवेदन दिने बेला नै सेवाग्राहीलाई कार्यालयमा आएर लिने वा घरमै मगाउने भन्ने विकल्प सोधिन्छ । घरमै सेवा लिन चाहनेहरूका लागि हुलाक कार्यालयमार्फत यो सुविधा उपलब्ध गराइने छ । जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरीष उपाध्यायले अभियानको पहिलो दिन चार जना सेवाग्राहीलाई घरमै पुगेर राहदानी प्रदान गरिएको जानकारी दिनुभयो ।

“हामीले प्रशासनसँग समन्वय गरी सुरक्षित रूपमा सेवाग्राहीको घरसम्मै राहदानी पुर्‍याउने व्यवस्था मिलाएका छौँ” उहाँले भन्नुभयो । यस अभियानअन्तर्गत बिहीबार व्यास नगरपालिका–५, साँगे बरबोटेकी समीक्षा ओझालाई प्रजिअ तिवारी, सहायक प्रजिअ दीपक रेग्मी र हुलाक प्रमुख उपाध्यायले घरमै पुगेर राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गर्नुभयो । राहदानी प्राप्त गरेपछि समीक्षाले १५ दिनमै विना झन्झट घरमै सेवा पाउँदा निकै खुसी लागेको बताउनुभयो । समीक्षाका बुबा शिवराज ओझाले सरकार जनताको घरदैलोमा आएको महसुस भएको बताउँदै भन्नुभयो, “सहज सेवा पाउँदा सरकारप्रति भरोसा जगाएको छ ।” समीक्षाकी आमा सुशीला ओझाले भन्नुभयो, “धन्यवाद सरकार! घरमै सेवा आउँदा समयको बचत भयो, यतिबेला खेतीपातीको समय छ, सदरमुकाम धाउनुपर्दा गाडी भाडा र दिनभरिको समय खर्च हुन्थ्यो, अब त्यो बाध्यता हटेको छ ।”

सहायक प्रजिअ दीपक रेग्मीले प्रशासनको यो कदमले नागरिकको समय र आर्थिक स्रोतको बचत गर्ने र सरकारी सेवाप्रति नागरिकको सन्तुष्टि बढाउने विश्वास व्यक्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले यसअघि सदरमुकाममै धाउनुपर्ने, दिनभर लाइन बस्नुपर्ने र गाडी भाडा खर्च गर्नुपर्ने समस्यालाई यस सेवाले पूर्ण रूपमा अन्त्य गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल