alliance khabar

आइतबार, चैत्र २९, २०८२

बनेपा, चैत २९ गते ।

सरकारले सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) छपाइको कामलाई तीव्रता दिएको छ ।

सरकारले कात्तिक २१ गतेदेखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) छाप्न सुरु गरेको हो । यातायात व्यवस्था विभाग र केन्द्रबिच सम्झौता भएबमोजिम केन्द्रबाट छ महिनाभित्र १२ लाख थाम लाइसेन्स छाप्ने सम्झौताबमोजिम लाइसेन्स छपाइको कामलाई तीव्रता दिइएको हो । सुरुका महिना केन्द्रका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति व्यवस्थापन नहुँदा लाइसेन्स छपाइको काम सुस्त गतिमा भएपनि पछिल्ला महिनामा छपाइको कामले गति लिएको छ ।

केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले केन्द्रबाट दैनिक ४० हजार लाइसेन्स छपाइ हुँदै आएको बताउनुभयो । “केन्द्रबाट दैनिक ५० हजार थान लाइसेन्स छपाइ गर्न सकिन्छ, छपाइ ५० हजार थान गर्न सकिए पनि केन्द्रमा लेमिनेसन मेसिन एउटै मात्रै भएकाले यो काममा समय धेरै लाग्छ, त्यही भएर हाल केन्द्रबाट दैनिक ४० हजारको हाराहारीमा लाइसेन्स छापेका छौँ” उपसचिव तिमिल्सिनाले भन्नुभयो । उहाँले केन्द्रमा लेमिनेसन गरिएको लाइसेन्स कटिङ गर्नका लागि एउटा मात्रै कटिङ मेसिन रहेको बताउनुभयो । केन्द्रमा हाल नौ जना इन्जिनियर र १६ जना प्राविधिक कर्मचारी गरी २५ जना कर्मचारीलाई खटाइएको छ ।

यातायात व्यवस्था विभाग र केन्द्रबिच छ महिनामा १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौताबमोजिम हालसम्म २९.५ प्रतिशत अर्थात् तीन लाख ५४ हजार १७४ थान छपाइ गरेर विभागलाई हस्तान्तरण गरिएको उपसचिव तिमिल्सिनाले बताउनुभयो । “केन्द्रमा अहिले ८० हजार थान लाइसेन्स छपाइ भएर हस्तान्तरणका लागि तयार छ, सोमबार थप ४० हजार थान छपाइ गरेर विभागलाई एक लाख २० हजार थान लाइसेन्स हस्तान्तरण गर्दैछौँ” उहाँले थप्नुभयो ।

उहाँले विभागसँगको सम्झौता अनुसार वैशाख १२ गतेभित्र सबै लाइसेन्स छपाइ गरेर हस्तान्तरण गर्नुपर्ने भए पनि वैशाखको पहिलो साताभित्र सबै लाइसेन्स छपाइ गरेर हस्तान्तरण गरिने बताउनुभयो । विभागले केन्द्रलाई हालसम्म पाँच लाख ५४ हजार थान लाइसेन्स छपाइका लागि पठाएको र मङ्गलबारसम्म थप तीन लाख थान छपाइका लागि आउन लागेको केन्द्रले जनाएको छ । केन्द्रमा हालसम्म तीन लाख १९ हजार ९०८ थान ब्याकलग (पुरानो लाइसेन्स) र ३४ हजार २६६ थान आपत्कालीन (विदेश जाने) लाइसेन्स छपाइ गरिएको छ । हाल ब्याकलगका एक लाख ७५ हजार ५९८ थान र आपत्कालीन ९४० थान लाइसेन्स छपाइको प्रक्रियामा रहेका छन् ।

यसै गरी केन्द्रका उपसचिव तिमिल्सिनाले केन्द्रले हुलाक व्यवस्था विभागसँग भएको सम्झौताबमोजिम ३० लाख थान हुलाक टिकट छपाइ गरेर हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले विभागले करिब डेढ करोड थान हुलाक टिकट छाप्ने बताउँदै अब ६० लाख थान हुलाक टिकट छाप्ने तयारी भइरहेको बताउनुभयो । राहदानी, बैङ्क नोटलगायतका वस्तुहरूको छपाइबापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७४/७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका लागि आफ्नो नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गरेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) निर्माणको काम सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल