काठमाडौँ, चैत २६ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ ।
राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थले नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुहुने र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९५ ले राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था गरेको छ ।
संविधानको सोही धारामा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभयो । अधिवेशन आह्वान गर्नुभएको दोस्रो सातामा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।
राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्लाई सम्बोधन गर्दा विशिष्ट तथा अन्य अतिथिको उपस्थिति रहने छैन । सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित बहुउद्देश्यीय सभाकक्षमा राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकको सम्बोधन गर्नुहुने छ ।
राष्ट्रपतिले संसद्मा सम्बोधन गर्दा विदेशी कूटनीतिक नियोगका प्रमुख, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको अतिथिका रूपमा उपस्थिति रहँदै आएको छ । सचिवालयका प्रवक्तासमेत रहनुभएका सहसचिव एकराम गिरीले सभाकक्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी करिब ३३५ वटा आसनको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “संयुक्त बैठक बस्ने गरी अन्य कुनै स्थान तयारी अवस्थामा छैन । सभाकक्षमै व्यवस्थापन गर्नुपर्ने भयो । विशिष्ट तथा अन्य अतिथिका लागि स्थान अभाव हुन्छ । अहिलेसम्म अतिथिलाई आमन्त्रण गर्ने सम्भावना न्यून छ ।”