सल्यान, चैत १२ गते ।
सल्यान जिल्लामा आलु खेतीलाई व्यावसायिक बनाउने उद्देश्यले कृषि विकास कार्यालयले चार पालिकामा आलु प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रम बागचौर नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका, दार्मा गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा लागू गरिएको हो। कार्यालयका अनुसार ६ वटा व्यक्तिगत फर्म, तीन किसान समूह र चार सहकारी छनोट गरी कार्यक्रम कार्यान्वयन अघि बढाइएको छ।
कार्यक्रमअन्तर्गत करिब २५ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार गरिनेछ। यसबाट एक सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख महेश आचार्यका अनुसार किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागी किसानलाई मिनी टिलरलगायत कृषि औजार, ड्रम, सिँचाइका लागि कुलो निर्माण, प्राविधिक सहयोग तथा तालिम उपलब्ध गराइनेछ।
जिल्लाको वनगाड कुपिण्डे–१२ निगालचुला र बागचौर–११ तथा १२ को बाफुखोला क्षेत्र वर्षे आलु उत्पादनका लागि परिचित मानिन्छन्। जिल्लाका सबै पालिकामा हिउँदे आलु उत्पादन हुँदै आएको छ।
गत वर्ष जिल्लामा ५२ हजार तीन सय मेट्रिक टन आलु उत्पादन भएको थियो, जसको मूल्य करिब एक अर्ब ७१ करोड रुपियाँ बराबर रहेको छ। तीमध्ये २९ करोड रुपियाँ बराबरको आलु जिल्लाबाहिर बिक्री भएको कार्यालयले जनाएको छ।
हाल जिल्लामा चार हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ। जसमध्ये दुई हजार ७०५ हेक्टरमा वर्षे र एक हजार ७३० हेक्टरमा हिउँदे आलु उत्पादन हुँदै आएको छ।