alliance khabar

सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ, चैत ९ गते ।

दाँतको सरसफाइले मात्र मुख तथा दाँतको ९५ प्रतिशत रोग रोक्न सकिने भए पनि दन्त स्वास्थ्यमा मानिसको बेवास्ताले गर्दा रोग बढिरहेको छ ।

खानपान तथा जीवनशैलीका कारण दाँतका बिरामी दिनप्रतिदिन बढिरहेका छन् । दाँत किराले खाने समस्या नेपालमा मुखसम्बन्धी सबैभन्दा ठुलो समस्या देखिएको छ । त्यसपछि गिजासम्बन्धी समस्या पनि देखिएको छ । पानपराग, गुट्खा, सुर्तीजन्य पदार्थ सेवनले गर्दा पनि दाँतको रोग बढिरहेको छ ।

सुर्तीजन्य पदार्थको नियमित सेवनले मुखको क्यान्सर हुने समस्या पनि बढिरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार एकदेखि नौ वर्षको बच्चामा गरिएको दाँत परीक्षणमा ५१.२ प्रतिशत बच्चामा दाँत किराले खाएको देखिन्छ । यस्तै १५ वर्षभन्दा माथिको उमेरका मानिसमा १४.८ प्रतिशतमा गिजा रोगको समस्या देखिएको छ । प्रत्येक एक लाखमा ३.४ जनामा मुखको क्यान्सर देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मानिसले दाँतको सरसफाइमा मात्र ध्यान दिए ९५ प्रतिशत दाँतको समस्या समाधान हुने बताउनुभयो । उहाँले मुख स्वास्थ्यलाई सम्बोधन गर्न राष्ट्रिय मुख स्वास्थ्य रणनीति तथा कार्ययोजना आए पनि त्यसको खास कार्यान्वयन हुन नसकेको बताउनुभयो । उक्त रणनीतिमा दाँत तथा मुख रोग उपचारका लागि सङ्घीयस्तरको छुट्टै अस्पताल हुनुपर्ने उल्लेख गरिएको छ । तर हालसम्म सो रणनीति कार्यान्वयन हुन सकेको छैन । आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट दाँत तथा मुखको स्वास्थ्य सेवा दिन सुरु गर्नुपर्ने, स्वास्थ्य बिमामा दाँत तथा मुखको सेवा समेट्नुपर्ने उल्लेख भए पनि स्वास्थ्य बिमामा हालसम्म दाँत तथा मुखको उपचार समेट्न सकिएको छैन ।

मुख स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०८१ मङ्सिरमा आएको थियो । डा. बुढाथोकीले नरम ब्रस प्रयोग गर्ने, फ्लोराइडयुक्त मन्जन प्रयोग गर्न सुझाव दिँदै बिहान खाना खाइसकेपछि र बेलुकी खाना खाइसकेपछि ब्रस गर्नुपर्ने बताउनुभयो । सरकारी र सबैभन्दा सस्तो उपचार हुने भनेर देशभरबाट मुख स्वास्थ्य (दाँत) को उपचार गर्न वीर अस्पतालमा मानिस आउने गरेका छन् ।

अत्यधिक चापका कारण वीर अस्पतालमा समयमा उपचार नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन् । वीरमा दाँत भर्न (आरसिटी) का लागि छ महिनापछिको समय दिइन्छ ।

वीर अस्पतालका दन्तरोग विभागीय प्रमुख डा. प्रमोदकुमार कोइरालाले आरसिटीका लागि छ महिना कुर्नुपर्ने जानकारी दिँदै बिरामीको अवस्था हेरेर छिट्टै पनि समय दिन सकिने बताउनुभयो । “सामान्यतया न्यूनतम आरसिटीका लागि छ महिना कुर्नै पर्छ,” डा. कोइरालाले भन्नुभयो, “वीरमा बिरामीको अत्यधिक चापले गर्दा समयमा उपचार हुन सक्दैन ।”

उहाँले वीर अस्पतालमा दाँत विभागमा पाँच प्रकारको उपचार हुने जानकारी दिनुभयो । डा. कोइरालाका अनुसार बिरामी सुरुमा स्क्रिनिङ गर्ने शाखामा ओपिडीमा जाने गर्छन् । त्यसपछि ओपिडीबाट बिरामीको समस्या हेरेर सर्जरी विभाग, दाँत मिलाउने, दाँत निकाल्ने, आरसिटी, समान्य भर्ने जस्ता विभागमा प्रेषण हुन्छन् । डा. कोइरालाले वीरमा दाँत निकाल्ने काम छिटो हुने जानकारी दिँदै आरसिटी तथा सर्जरी जस्ता समस्याका लागि समय लाग्ने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सरकारी जुनसुकै अस्पतालमा बिरामीको चापका कारण ढिला पालो आउने गरेको बताउनुभयो । उहाँले मुख स्वास्थ्य नीति कार्यान्वयन गर्न नयाँ रणनीति आए पनि त्यसको पूर्ण कार्यान्वयनमा समस्या भएको बताउनुभयो । मानिस मुख स्वास्थ्यलाई ध्यान नदिँदा समस्या भएको भन्दै उहाँले बिरामी खप्नै नसक्ने अवस्थामा मात्र अस्पताल जाने गरेको बताउनुभयो । मुख स्वास्थ्यका जनशक्ति कम भएका कारण समस्या भएको उहाँको भनाइ छ । सरकारले नीतिगत रूपमा मुख स्वास्थ्य समस्या समाधान गर्ने प्रयत्न गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल