alliance khabar

आइतबार, चैत्र ०१, २०८२

ललितपुर ,फागुन ३० गते ।

पशुपतिनाथप्रतिको अभद्रता र बागमतीको दुर्दशाप्रति राष्ट्रदेवसँग क्षमायाचना गर्दै मुलुकमा स्थायित्व एवम् राष्ट्रिय एकताको कामनाका साथ धार्मिक पर्यटन विस्तारका लागि बृहत् पाशुपत पदयात्रा कार्यक्रम आयोजना गर्न लागिएको छ । जसअन्तर्गत यही चैत १६ गतेदेखि करिब ४० दिनसम्म काठमाडौं उपत्यका लगायत आसपासका १० जिल्लाका चौसठ्ठी सिद्धलिङ्ग दर्शनको कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

देवघाटस्थित महेश सन्न्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलका अध्यक्ष स्वामी रमणानन्द गिरिको संकल्पमा आयोजना गरिएको उक्त पदयात्रा करिब १ हजार किलोमिटरको हुने र कम्तिमा १ सय जनाको समूहले पूर्ण पदयात्रा गर्ने विश्वास आयोजकहरुको छ । पदयात्रा सफल बनाउन व्यापक सहभागिता र सहयोगको लागि समेत आग्रह गरिएको छ । चैत १५ गते पशुपति शंकराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गंगाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट पदयात्राको शुभारम्भ हुने जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलन कार्यक्रममा नेपाल सन्त समाज एवम् हरिहर सन्यास आश्रम, देवघाटधामका पीठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले पशुपतिकै प्रदक्षिण तीन तीन पटक हुने यो पदयात्रा महायात्रा भएको बताउनुभयो ।

नेपालभूमिको बारेमा वेद, धर्मग्रन्थ र स्मृतिहरुमा चर्चा भएको भन्दै उहाँले इतिहास पढ्ने बानी हामीमा नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । इतिहास कम पढेका कारण हाम्रा तीर्थहरु,नदीहरु, भीरपाखासँगै हाम्रा ऋषिमुनीहरुले के कस्ता ग्रन्थ कहाँ बसेर लेखे आदिबारे हामीलाई कम जानकारी भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पदयात्रा संकल्पकर्ता स्वामी रमणानन्द गिरिले पशुपतिनाथप्रतिको अभद्रता र बागमतीको दुर्दशाले नागरिक र सरकार सबैलाई पोलोस् भनेर बृहत् पाशुपत पदयात्रा आयोजना गरिएको बताउनुभयो ।

उहाँले भगवान शिवलाई स्नान गराउन प्रकट भएको वागमती नदीमा ५० को दशकमा ढल मिसाएबाट मुलुकलाई ठूला अभिशापहरु लागेको बताउनुभयो । त्यसपछि नेपालमा विग्रह, हत्या हिंसा, विभेद, वैमश्य, निषेध, अशान्ति, अव्यवस्था, आदि उत्पन्न भएको बताउँदै स्वामी रमणानन्द गिरिले शिव अपराध लागेर मुलुक अभिशप्त भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रदेव भनेर मुखले भन्ने, पुस्तकमा लेख्ने जयजयकार गर्ने तर व्यवहार ठीक उल्टो भयो ।’

‘हामी नेपालीहरुलाई अलिकति लाज पनि लागोस्, ‘उहाँले भन्नुभयो, ‘विशेष गरी यहाँका नगरबासी नागरिकहरुलाई, लोकलाई, म नेपालको सरकार हुँ भनेर बस्ने सरकारलाई पनि अलिकति लाज लागोस्, पशुपतिनाथप्रतिको अभद्रता र बागमतीको दुर्दशाले सरकारलाई पनि पोलोस् भनेर पनि यो पदयात्रा आयोजना गरिएको हो ।’

उहाँले बागमती नदीलाई सकारात्मक रुपमा व्यवस्थित गर्न सक्ने हो भने पशुपतिनाथमा शुद्ध बागमतीको जलले अभिषेक हुनु अनिवार्य भएको बताउनुभयो । ‘त्यो भगवान शिवको देवाधिकारभित्र पर्छ, उहाँले भन्नुभयो, ‘ हाम्रो संविधानले मानवअधिकार मात्र चिन्छ तर धर्मशास्त्रले देवाधिकारको पनि व्यवस्था गरेको छ ।’

बागमती स्वच्छ, निर्मल र कञ्चन हुनुर्पे भन्दै उहाँले भन्नुभयो, ‘बागमती मेरो हो, मान्छे पछि आएर बसेका हुन्, राजधानी पछि बनेको हो, यहाँ भिडभाड पछि भएको हो, यो बागमती मेरो हो, यहाँको शुद्ध पानी मैले पिउन पाउनुपर्छ, यहाँको जलमा मैले स्नान गर्न पाउनुपर्छ, कैलाश त छोडेर म यहाँ स्नान गर्न आएको अहिले बागमती अशुद्ध हुनाले नुहाउन पाइन छोड्यो, मलाई लाजमर्दो भयो, तिमीलाई पनि लाजमर्दो भो भनेर भगवान पशुपतिनाथले देवाधिकार माग्ने बेला आएको छ । त्यही भएर अब पनि हामी चुप लागेर बसियो भने यतिका यतिकै कुहिएर जाने भो, बोल्न छोडियो भने चामल पनि बिक्दैन ।’

हाम्रो चेतना अध्यात्म र धर्मबाट विमुख हुँदै ठीकै छ त यस्तै चलिआएको छ, यस्तै त होनि भन्नेतर्फ जाने हो भने पुरै ध्वस्त हुने भन्दै उहाँले अब आवाज उठाउनुपर्छ भनेर पदयात्रा आयोजना गरिएको स्पष्ट पार्नुभयो । नेपाललाई विभिन्न प्रकारको अभिशापहरुबाट मुक्त गर्न, राष्ट्रदेवप्रतिको द्रोह अन्त्य गराउन, जनचेतना जागृत गराउन, राज्यलाई बाध्यकारी बनाउन, सचेत गराउन कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।

हामीले आजसम्म गरेको देवापराध, शिवापराध, पाशुपत अपराधका लागि एवम् नेपाल र नेपालीहरुको कल्याणका लागि भगवान शिवसँग दिव्य करुणभावले क्षमायाचना गर्न सन्तहरुको अगुवाईमा ब्रम्हचारी वटुकहरु तथा साधकसाधिकाहरुको भव्य सहभागितामा पदयात्रा कार्यक्रम गरिने भन्दै यसलाई हरतरहबाट हरसम्भव तरिकाले सहयोग गर्न स्वामी रमणानन्द गिरिले सबैलाई आग्रह गर्नुभयो । उक्त पदयात्राको बीचबीचमा राज्यलाई चुनौती तथा आदेशका भाषामा उद्वोधन एवम् जागरण सभाहरु समेत आयोजना गरिने उहाँले बताउनुभयो ।

DSC00524_11zon.jpg

स्वामी रमणानन्द गिरिले भन्नुभयो, ‘हामी साधुसन्तहरु अनुरोध गर्दैनौं, धर्मादेश जारी गर्छौं । न्यायालयले परमादेश जारी गर्छ, हामी धर्मादेश जारी गर्छौं, जुन परमादेश भन्दा पनि ठूलो हुन्छ । यसले राज्यलाई बाध्य बनाउँछ । जनघनत्व र प्राज्ञिक घनत्वसमेत ठूलो भएको उपत्यकाको यी १० जिल्लालाई चारतिरबाट हामीले ४० दिसम्म घेराबन्दी गरेर घुम्दा मानिसको चेतना कसो जागृत नहोला, राज्यले कसो नसुन्ला ? त्यही आशाले समेत यो पदयात्रा आयोजना गरिएको हो । सबै जाग्दा उस्तै परे ६ महिनामा ढलमुक्त बागमतीको पानीले भगवान पशुपतिनाथलाई स्नान गर्ने अवस्था आउला कि ?’ यसले आध्यात्मिक पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नयाँ नेपाल बनाउने नाममा, शहरीकरणको चपेटामा पशुपति क्षेत्रको दुर्गति भएको बताउँदै राष्ट्रदेवसँग क्षमायाचना, पशुपतिनाथको प्रचारप्रसार, बागमतीको शुद्धता आदि विषयसँग यो पदयात्रा जोडिएको भन्दै त्यति नभएसम्म यो आध्यात्मिक अभियान, आध्यात्मिक युद्ध चलिरहने पनि उहाँले बताउनुभयो ।

‘यो वैचारिक युद्ध हो, गुट उपगुट विरुद्ध नभई यो आफैंसँगको युद्ध हो, ’स्वामी रमणानन्द गिरिले भन्नुभयो, ‘अहिलेसम्म हामी आफैंले सोमत बिगारेर बसेका छौं, हाम्रै आचरण, हाम्रै अनुशासन, हाम्रै राज्यव्यवस्था विरुद्धको युद्ध हो त्यही भएर आफैंले आफैसँग लडेर आफैंले विजय प्राप्त गर्ने युद्ध हो । हामीभित्रको आसूरी पक्षलाई हामी भित्र रहेको दैवी पक्षले जितेर विजय हासिल गर्नुपर्ने अवस्था छ ।’

कार्यक्रममा बृहत् पाशुपत पदयात्रा कार्यक्रम आयोजक समितिका सचिव अध्येता श्यामकृष्ण सुवेदीले चौसठ्ठी सिद्धलिङ्गमध्ये केहीको विस्तृत परिचय र समग्रतमा संरक्षण एवम् प्रवर्धनका लागि गरिनुपर्ने कामहरु समेत समाविष्ट प्रस्तुीकरण गर्नुभएको थियो । उहाँले पदयात्रामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लाका सिद्धलिङ्ग भ्रमण गरिने बताउनुभयो ।

आयोजक समितिका संयोजक आचार्य कपिल सुवेदीले ६४ शिवलिङ्गको यस किसिमको यात्रा राजा प्रताप मल्लपछि अहिले गर्न लागिएको भन्दै कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा पूर्व सचिव भीम उपाध्यायले राष्ट्रदेव पशुपतिनाथ जोगाउने काममा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता सहित हाम्रा मठमन्दिरहरुको दिव्यता र भव्यताबारे संक्षिप्त धारणा राख्नुभएको थियो ।

बृहत् पाशुपत पदयात्रामा नेपाल, भारत र बर्माका साधुसन्त, धर्माचार्य तथा श्रद्धालुहरुको उपस्थिति रहने जानकारी कार्यक्रममा गराइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल