गुल्मी, माघ २८ गते।
गुल्मीमा इभी गाडी दुर्घटना भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर– ५ धनार्जे लामीडाँडास्थित मदन भण्डारी पक्की सडक खण्डमा इभी गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार बिहान मदन भण्डारी पक्की सडक खण्डमा धनार्जेबाट तम्घासतर्फ आउँदै गरेको लु.प्र.०१–००१ ज ०४३५ नम्बरको इभी गाडी दुर्घटना भएको हो। अचानक स्टेरिङ फेल भई गाडी सडकबाट अन्दाजी २०/२५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिनुभयो।
उहाँका अनुसार इस्मा गाउँपालिका वडा नम्बर– २ का ३२ वर्षीय राजु कुवँरले चलाउनुभएको इभी गाडी दुर्घटना भएको हो। दुर्घटनामा परी सह–चालक सोहि स्थानका १८ वर्षीय ईश्वर कुवँरको मुखमा सामान्य चोट लागि घाइते हुनुभएको छ। घाइते कुँवरको उपचारका लागि जिल्ला अस्पताल तम्घासमा पठाइएको छ।
गाडीमा अन्य यात्रु कोही नभएको बताइएको छ। गाडी घटनास्थलमै छ। उक्त स्थानमा प्रहरी चौकी धनार्जेबाट प्रहरी बरीष्ठ हवलदार गुनबहादुर बोहोराको कमाण्डमा प्रहरी टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।