alliance khabar

शनिबार, जेठ ०३, २०८२

काठमाडौँ, जेठ ३ गते  ।

सगरमाथाको देश नेपाल । यहाँका हिमाल, प्राकृतिक सौन्दर्य र सम्पदाहरूले विश्वको ध्यान खिच्न सफल भएको छ । सगरमाथा संवादमा सहभागी हुन आउनुभएका विदेशी पाहुनाले नेपालको हिमालसँगै सांस्कृतिक सम्पदाहरूले विश्वका आमनागरिकको ध्यान खिच्न सफल रहेको सुनाउनुभयो ।

बङ्गलादेशका महिला तथा बालबालिकामन्त्री सरमिन सोनिया मुरसिदले नेपालका हिमाल र बङ्गलादेशको समुद्र एकअर्कासँग जोडिए जसरी दुई देशको सम्बन्ध प्राकृतिक रूपमै निकट रहेको औँल्याउनुभयो । संवाद अन्तर्गतको छलफलसँगैका अन्य कुराकानीका व्रmममा उहाँ भन्नुहुन्छ, “दुई देशमा देखिएको जलवायु परिवर्तनको सङ्कट मात्र होइन, यो एउटा आत्मिक सङ्कट पनि हो ।”

समान रूपमा पीडित भएका दुई मुलुकले प्राकृतिक सौन्दर्यसँगै एउटा मानिस र एउटा हिमाल कति अन्तरसम्बन्धित छन् भन्ने कुरा दुई देशलाई मात्र थाहा भएको उहाँ सुनाउनुहुन्छ । भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङको दृष्टिमा बुद्ध जन्मेको देश र हिमालयसँग दुई देशको अन्तरनिहित सम्बन्ध छ । उहाँ औँल्याउनुहुन्छ, “उस्तै खालको भौगोलिक र वातावरणीय परिवेशका कारण पनि हामी पूर्ण रूपमा वातावरणसँग सम्बद्ध छौँ । अनि सगरमाथासहितको हिमाल दुवै देशको विकासको प्रमुख खम्बा नै हो ।”

भुटान अहिले नै कार्बन नेट जिरो लक्ष्यमा स्थापित मुलुक हो भने नेपाल सन् २०४५ सम्म नेट जिरोको लक्ष्य भेट्न अग्रसर मुलुक हो । जलवायु सङ्कटले विश्व झक्झकाइरहेका बेला नेपालले सही समयमा उठान गरेको विषयले भुटान प्रभावित छ ।

संयुक्त राष्ट्रसङ्घको सामाजिक आर्थिक समितिका उपमहासचिव अर्मिदा साल्सा अलिसजेवानाको विचारमा एसियाकै ४४ प्रतिशत हिमालमध्ये अग्ला हिमालहरूको देश नेपालको योगदान पृथ्वीकै संरक्षणमा अतुलनीय छ । पछिल्लो समय जलवायु परिवर्तनको सङ्कट गहिरिँदै गर्दा यहाँको सौन्दर्य र योगदानको पहिचान गर्दै समाधानयुक्त पहल गर्न ध्यान खिचेको उहाँ उल्लेख गर्नुहुन्छ ।

संयुक्त अरब इमिरेट्सका सहायकमन्त्री अब्दुल्लाह बलाला सगरमाथा विश्वकै उच्च हिमाल मात्र होइन, विश्वकै उच्च सिद्धान्त पनि यसले बोक्न सफल भएको जिकिर गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यस्तो सुन्दर हिमालयमा हिउँ भएन भने के हुन्छ भन्ने प्रश्न खडा भएको छ, जुन पृथ्वीको स्वास्थ्यकै प्रमुख मापक हो ।” हिमाल संरक्षणका लागि प्रकृतिमा आधारित समाधानहरूको आवश्यकता औँल्याउँदै उहाँ दक्षिण दक्षिण सहकार्यका लागि सहकार्य गर्न लालायित रहेको धारणा राख्नुभएको थियो ।

उहाँले जस्तै जापानका सहायक विदेशमन्त्री इकुना अकिकोले जापान समग्र समाधानका लागि नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता सुनाउनुहुन्छ । उहाँको धारणा छ, “हिमाल जोगाउन हामी सहकार्यलाई प्रवर्धन गर्छौं ।”

बेलायतका उपविदेशमन्त्री ब्यारोनेस सुसान हाइमन नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको संरक्षणमा वैश्विक सहकार्यमा बेलायतको सदैव साथ रहने टिप्पणी गर्नुहुन्छ ।

किर्गिजस्तानका विशेष प्रतिनिधि दिनारा क्यानालोभा नेपालका हिमाल जति सुन्दर छन्, त्यहाँका हिमाली समुदायहरू त्यति नै जोखिममा रहेकाले नेपालसँगै संरक्षणको यात्रा सुरु गरेको सुनाउहुन्छ ।

उहाँ जस्तै सहभागी हुन आउनुभएका अमेरिकाका युवा ड्यानियल स्विनी नेपालको कला, संस्कृति र सम्पदासँग आफूनजिक भएको सुनाउनुहुन्छ । यहाँको खानपान, रहनसहन र मानिसहरूको ऊर्जाशील पहलबाट आफू प्रभावित भएको स्मरण उहाँले गर्नुभयो । उहाँले जस्तै विशिष्ट अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिहरूले नेपालको सम्पदा र संस्कृतिको संवर्धनमा सहकार्य गर्न आतुर रहेको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल