गुल्मी, असार ७ गते : गुल्मीको मालिका गाउँपालिकाले ‘बालमैत्री स्थानीय तह’ घोषणा गर्ने नीति ल्याएको छ । मालिका गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष देविराम अर्यालले १९४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्ष भित्रमा ‘बालमैत्री स्थानीय तह’ घोषणा गरिने बताउनुभयो ।
उहाँले बालअधिकारको सुनिश्चितताको लागि बालमैत्री स्थानीय शासन विकास र प्रवर्द्धन गर्न आवश्यक प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आगामी तीन वर्ष भित्रमा मालिका गाउँपालिकालाई ‘बालमैत्री स्थानीय तह’ घोषणा गरिने नीति ल्याइएको बताउनुभयो । बालबालिकाहरुको हकहित संरक्षण गर्दै विविध गतिविधिहरुमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने नीति ल्याइएको छ ।
पूर्वाधार निर्माण सम्बन्धि कार्य गर्दा बालमैत्री तथा अपाङ्गमैत्रे हुने गरी निर्माण गरिने उल्लेख छ । समुदाय तथा विद्यालय तहमा रहेका बाल क्लबको सशक्तीकरण गरी स्थानीय बाल संजाल गठन गरिने भन्दै गाउँपालिकाका हरेक युवाहरुलाई सकारात्मक सोचका साथ युवा प्रोत्साहन तथा मनोपरामर्शका कार्यक्रम अगाडि सारिएको उहाँले बताउनुभयो ।
लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण कार्यक्रम सञ्चालन गरिने भन्दै उहाँले पिछडिएका विपन्न एवम् गृहणी महिलाहरुको आर्थिक सशक्तीकरणका लागि जीविकोपार्जन उद्यमशीलता प्रोत्साहन कार्यक्रम गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताउनुभयो । अनाथ, असहाय, अपाङ्गता भएका टुहुरा, अशक्त तथा आफ्नो जीवनयापन आफै धान्न नसक्ने वर्गका लागि गाउँपालिकाको समन्वयमा गैरसरकारी संस्थासंग सहयोगका कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको छ ।
यस गाउँपालिकाको ह्वावङ्दीमा अवस्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई थप स्तरोन्नति गरी जेष्ठ नागरिक पुनर्मिलन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। अपाङ्गता भएका व्यक्तिलाई जीवनयापनका लागि आवश्यक सीपमूलक तालिमको व्यवस्था गरिने भन्दै गाउँपालिका अध्यक्ष अर्यालले लक्षित वर्ग समुदायको कार्यक्रमलाई यथार्थपरक बनाउन आवश्यक नीति ल्याइएको बताउनुभयो ।
कृषि पर्यावरण र प्रकृति पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वन फलाउनेछ धन भन्ने अभियान सञ्चालन गरिने भन्दै गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको उहाँले बताउनुभयो । यहाँका सबै वडामा मौसम अनुसार हरेक घर दुई फलफूलका विरुवा रोपण कार्यक्रम लागत साझेदारीमा सञ्चालन गरिने भन्दै उहाँले गाउँपालिका भित्र रहके महत्त्वपूर्ण जडिबुटीको अध्ययन, अनुसन्धान र अभिलेखिकरणको थालनी गर्ने बताउनुभयो ।
स्थानीय तहको सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ, प्रतिस्पर्धी, समावेशी र जनउत्तरदायी, नतिजामूखी बनाउने नीति ल्याइएको छ । यहाँका सबै वडाबाट प्रवाह गरिने सेवा प्रवाहलाई विद्युतीय प्रणालीमार्फत सञ्चालन गरिने नीति ल्याइएको भन्दै गाउँपालिका अध्यक्ष अर्यालले जनप्रतिनिधि तथा कर्मचारीहरुको आचारसंहिता तयार गरी सबै प्रतिबद्ध हुने बताउनुभयो ।
त्यस्तै, गाउँपालिकाले बढ्दो बसाइँसराइले गर्दा उपयोग नआएका तथा बाँझो जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवा लक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने भएको छ । एक घर एक करेशाबारी, एक घर एक बगैंचा र मागमा आधारित तालिम, पशु स्वास्थ्य शिविर तथा बाली संरक्षण शिविर लगायतका कृषि कार्यक्रमहरु गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको उहाँले बताउनुभयो ।
उद्योग, पर्यटन, व्यवसाय, सहकारी अन्तर्गत स्थानीय बासिन्दाको आर्थिक अवस्था सुदृढ गरिने नीति ल्याइएको छ । हाम्रो उत्पादन हाम्रो स्वाभिमान अन्तर्गत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै उपयोग गरिने समावेश गरिएको छ । २०० जना युवा उद्यमी सिर्जना गर्नका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरिने भन्दै घुमौ मालिका चिनौ मालिका भन्ने नाराका साथ पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।