Alliancekhabar

शुक्रबार, आषाढ ०७, २०८१

काठमाडौँ,  असार ७ गते :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो ।

उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

“अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइरहेको र जहाज तथा हेलिकप्टरको सङ्ख्या पनि बढिरहेको सन्दर्भमा यो हेलिप्याड सान्दर्भिक छ”, उहाँले भन्नुभयो, “विमानस्थल पूर्वाधारको सेवा विस्तार भइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको यो हेलिप्याड विशेषगरी पूर्वी भेगका जिल्लाका लागि उपयुक्त हुनेछ । यसको बहुआयामिक महत्व पनि छ ।”

पर्यटनमन्त्री तामाङले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताउनुभयो । उहाँले भक्तपुरमा पहिलो पटक सुविधायुक्त हेलिप्याड व्यावसायिक रुपमा सञ्चालन आउनु नागरिक उडानका लागि निकै उपलब्धिमूलक भएको उल्लेख गर्नुभयो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उडान चाप व्यवस्थापनसँगै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई सहज रुपमा सेवा प्रदान गर्न मद्दत पुग्नुको साथै स्थानीयले पनि यसबाट लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

महानिर्देशक अधिकारीले अहिले त्रिभुवन विमानस्थल विस्तारको क्रममा रहेकाले जनाउँदै हालको हेलिकप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेको बताउनुभयो । मुलुकको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाइएको उहाँको भनाइ छ ।

हेलिप्याड सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने प्राधिकारणले जनाएको छ । प्राधिकरणका सिभिल इञ्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकप्टर पाकिङ गर्न मिल्ने क्षमता रहेको उक्त हेलिप्याडमा एकै पटक चारवटा हेलिकप्टर अवतरण गर्न सकिन्छ ।

आज हेलिप्याड उद्घाटनको अवसरमा विभिन्न वायुसेवा कम्पनीका हेलिकप्टर अवतरण गराइएको थियो । पर्यटनमन्त्रीसहित क्यानका पदाधिकारी तथा हेलिकप्टर कम्पनीका पदाधिकारी अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमार्फत नलिञ्चोक आउनुभएको थियो ।

करिब रु. ११ करोडको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल मुलुकमा १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल