alliance khabar

बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ, असोज १ गते ।

 काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो । विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मूल्य बढाइएको भन्ने गुनासो सार्वजनिक भएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत लिएर उपत्यकाका खुद्रा तथा थोक व्यापारीलाई प्रतिकेजी ११० रुपियाँ चिनी बिक्रीको व्यवस्था गरेको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका नेपाल खुद्रा व्यापार सङ्घ, नेपाल खाद्य किराना तथा थोक सङ्घ, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरीलगायतबाट चिनी प्रतिकेजी ११० रुपियाँमा पाउने व्यवस्था गरिएको छ । मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख जितेन्द्र बस्नेतले उपत्यकामा भोलिदेखि नै चिनी सहज हुने र प्रतिकेजी ११० रुपियाँमा पाइने जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भारतबाट एक प्रतिशत भन्सारमा २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय भएको छ भने नेपालका उद्योगबाट २० हजार मेट्रिक टन गरी ४५ हजार मेट्रिक टन चिनी खरिद भएपछि कात्तिकसम्म पुग्छ । त्यसपछि बिस्तारै नेपालकै उद्योगीले नयाँ चिनी उत्पादन हुन्छ ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रतिकेजी १०५ रुपियाँमा लिएर खुद्रा पसल र थोक व्यापारीले प्रतिकेजी ११० रुपियाँमा उपलब्ध गराउनुपर्ने छ । भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरीलगायतबाट डिपार्टमेन्ट स्टोरले पनि नोक्सान नै भए पनि आजैदेखि प्रतिकेजी ११० रुपियाँमै बेच्न सहमत भएको महाशाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो । कर्पोरेसनका सहायक कार्यकारी प्रमुख ब्रजेश झाले सरकारको निर्देशन अनुसार खुद्रा र थोक व्यापारीलाई प्रतिकेजी १०५ रुपियाँमा चिनी बिक्री गर्न थालेको जानकारी दिनुभयो ।

नेपालमा वार्षिक तीन लाख मेट्रिक टन चिनी माग रहेको र नेपालमा एक लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेको र बाँकी भारतबाट ल्याउनुपर्ने तर पछिल्लो पटक भारतले आफ्नै देशमा अभाव भएपछि निर्यात कडाइ गरेपछि नेपालमा अहिले समस्या आएको उहाँको भनाइ रहेको छ ।

उद्योगीका कारण चिनीको अभाव

बजारमा अहिले चिनीको अभावको समस्या सरकारका कारण नभएर उद्योगीका कारण भएको भन्दै सहसचिव बस्नेतले भन्नुभयो, “जुनबेला भारतबाट मागेजति चिनी आयात गर्न पाइन्थ्यो त्यसबेला उद्योगीले भारतबाट चिनी आउँदा आफ्नो नबिक्ने भन्दै भन्सार बढाउन माग गरे । भारतले चिनी निर्यातमा कडाइ गरेपछि चिनी छैन भन्दै तिनै उद्योगी आउँछन् ।”

मन्त्रालयका अनुसार नेपालमा माग हुने चिनीको ४० प्रतिशत चिनी उद्योगको प्रयोजन (कोकाकोला, पेप्सी, मिठाई उद्योग) मा प्रयोग हुने गरेको छ भने ६० प्रतिशत चिनीले आमउपभोक्ताको माग धान्ने गरेको छ । उद्योगीले आफूलाई आवश्यक पर्ने चिनी पहिले नै मौज्दात गरिसकेको अहिले आवश्यक आमउपभोक्तालाई मात्रै भएको हो ।

सरकारको निर्णय अनुसार भारतबाट भन्सार छुटको चिनी आउन थालिसकेको छ र दसैँअगाडि नै सबै चिनी आइसक्छ । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्रचार्यले गएको एक महिनादेखि अधिकांश खुद्रा व्यापारीले चिनी बिक्री गर्न छोडेको र साल्ट ट्रेडिङ कर्पोेरेसनबाट चिनी लिएर प्रतिकेजी ११० रुपियाँमा उपभोक्तालाई सेवा गर्न तयार भएको बताउनुभयो ।

चिनीमा कालोबजारी गरेको भन्दै सरकारका नियमनकारी निकायले हामीमाथि नै चार्ज लगाउने गरेको भन्दै उहाँले भन्नुभयो, “चिनीको अभाव वा कालोबजारी गर्ने आफूहरू नभएर उद्योगी हुन् भन्ने सरकारलाई थाहा हुँदाहुँदै पनि खुद्रालाई दुःख प्रवृत्तिको अन्त्य हुनु पर्छ ।”

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा चिनी हुँदाहुँदै पनि उद्योगी वा ठुला व्यापारीले कृत्रिम अभाव सिर्जना गरेका बेलामा सरकारको यो निर्णयले  उपभोक्तालाई धेरै राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ