काठमाडौँ, असोज १ गते ।
हरेक वर्ष असोज १ गते हिन्दू धर्मावलम्बीले विश्वकर्मा पूजा मनाउने गर्छन् । आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण तथा औजारको पूजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ ।
कालिगड तथा विभिन्न उद्योग–कलकारखानामा काम गर्नेहरूले फलामे औजार र उपकरणको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउने गर्छन् ।
समुद्र मन्थनबाट प्रकट हुनुभएका भगवान् विश्वकर्मालाई स्मरण गर्दै औजार, धातुजन्य उपकरण तथा सवारीसाधनको पूजा गर्नाले चोटपटक नलाग्ने र दुर्घटना नहुने जनविश्वास छ ।
द्वापरयुगमा भगवान् कृष्णलाई विभिन्न राक्षसले दुःख दिएपछि कृष्णकै आग्रहमा विश्वकर्माले समुद्रको बीचमा द्वार बनाई संरक्षण गरेको धार्मिक विश्वाससमेत छ । सोही समयदेखि विश्वकर्मा पूजा गर्ने परम्परा चलिआएको किंवदन्तीमा उल्लेख छ ।
विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यकाको भद्रकाली, मैतीदेवी तथा ललितपुरको महालक्ष्मी मन्दिरलगायत विभिन्न शक्तिपीठमा सवारीसाधनको पूजाआजा गर्ने गरिन्छ ।