विराटनगर, भदौ ३१ गते ।
चाडबाडको मौसम सुरु भएसँगै बजारमा घिउ तथा नौनी (बटर) को चरम अभाव देखिएको छ । दसैँतिहारलगायतका चाड नजिकिँदै गर्दा घिउको माग ह्वात्तै बढेको छ । बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा एक महिनाको अवधिमै घिउको मूल्य प्रतिकिलो दुई सय रुपियाँसम्मले वृद्धि भइसकेको छ । मूल्य बढे पनि उपभोक्ताले बजारमा सहज रूपमा घिउ पाइरहेका छैनन् । भर्खरै सम्पन्न हरितालिका तिजमा दर खाने बेलादेखि नै घिउको चर्को अभाव हुँदा उपभोक्ता तथा मिठाई व्यवसायीले निकै सास्ती भोग्नु परेको थियो ।
विगतमा कोशी प्रदेशका बजारमा निजी डेरी तथा सहकारी संस्थाले प्रतिकेजी ७५० रुपियाँमा नौनी बिक्री गर्दै आएका थिए । घिउको मौज्दात पनि लाखौँ किलो रहने गरेको थियो । अहिले तिज र दसैँको मुखमा घिउ अभाव हुँदा बजारमा भाउ बढाएर प्रतिकेजी ९५० देखि एक हजार रुपियाँसम्म पुर्याइएको छ । चर्को मूल्य तिर्न तयार हुँदासमेत बजारमा घिउ पर्याप्त मात्रामा उपलब्ध छैन । सरकारी तथा निजी डेरी उद्योगसँग मौज्दात पनि न्यून मात्र रहेको पाइएको छ ।
कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तरहरा, सुनसरीका सूचना अधिकारी मेघराज लुइटेलले बजारमा देखिएको यो अभाव कृत्रिम नभई पूर्ण रूपमा वास्तविक भएको दाबी गर्नुभयो । किसानस्तरमै दुध उत्पादन घटेका कारण डेरी उद्योगको मौज्दात रित्तिएको उहाँको दाबी छ ।
विगतका वर्षमा आफूहरूसँग डेढ सय टन (करिब डेढ लाख किलो) सम्म नौनी कोल्डस्टोरमा मौज्दात रहने गरेकामा अहिले त्यो शून्यमा झरेको लुइटेलले जानकारी दिनुभयो । उहाँका अनुसार सीमावर्ती नाकामा कडाइ गरिएका कारण भारतबाट आउने सस्तो वनस्पति घिउको आयात रोकिएको छ । विगतमा बजारमा वनस्पति घिउले ठुलो माग धान्ने गरेकोमा अहिले त्यो रोकिएपछि शुद्ध घिउको माग अत्यधिक बढेको र आन्तरिक उत्पादनले मात्र धान्न नसकेकाले अभाव देखिएको हुन सक्ने उहाँको भनाइ छ ।
यसबाहेक पहाडी भेगका साना उद्योगबाट आउने नन–पास्चराइज्ड बटरमा फ्याट कम हुने र झापालगायतका क्षेत्रमा खुलेका छुर्पी उद्योगले दैनिक ३० देखि ४० हजार लिटर दुध खपत गरिरहेकाले पनि डेरी उद्योगमा घिउ बनाउने दुध र नौनीको अभाव देखिएको हुन सक्ने निजी डेरी उद्योगीको भनाइ छ । कच्चा पदार्थको अभावकै कारण कामधेनु सहकारीको धुलो दुध उत्पादन गर्ने पाउडर प्लान्ट डेढ महिनादेखि बन्द रहेको छ ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनामा पनि घिउ र मखनको मौज्दात लगभग सकिएको छ । आयोजना प्रमुख नवीनकिशोर शर्माका अनुसार दुध सङ्कलनमा आएको गिरावटले उत्पादन प्रक्रिया नराम्ररी प्रभावित भएको हो । जेठसम्म आयोजनाले दैनिक नौ हजार लिटर दुध सङ्कलन गर्दै आएकोमा अहिले घटेर दैनिक सात हजार लिटरमा झरेको छ ।
सङ्कलित दुधबाट दैनिक करिब सात लाख रुपियाँको दुग्धजन्य पदार्थ बिक्री हुँदै आएको शर्माले जानकारी दिनुभयो । विगतका वर्षमा आयोजनासँग एक हजार टन पाउडर र आठ सय टनसम्म मखन मौज्दात रहने गरेकोमा हाल घटेर २० टन पाउडर र १० टन मात्र मखन बाँकी रहेको शर्माले जानकारी दिनुभयो । दुधको अभावले गर्दा हप्तामा दुई/तीन दिन चल्ने पाउडर प्लान्ट अहिले मुस्किलले हप्ताको एक दिन मात्र चलाउने गरिएको छ ।
बजारमा निजी क्षेत्रले घिउ लुकाएर कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशङ्कालाई आयोजना प्रमुख शर्माले अस्वीकार गर्नुभयो । मखन सुरक्षित राख्न माइनस २० डिग्री सेल्सियस तापक्रमको कोल्डरुम आवश्यक पर्ने र त्यो अत्यन्त खर्चिलो हुने भएकाले कसैले पनि मखन होल्ड गरेर राख्न नराख्ने उहाँको तर्क छ । निजी डेरीले दुध आपूर्ति घटाएपछि डिडिसीको विराटनगर आयोजनामा दैनिक दुई हजार लिटरको दुधको माग बढेर छ हजार लिटरसम्म पुगेको छ ।