कास्की, साउन ३१ गते ।
वर्खायामसँगै गण्डकी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमणबाट बच्न साउनदेखि कात्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनुपर्ने चिकित्सिक बताउँछन् । यस वर्ष मनसुन भएसँगै डेङ्गु सङ्क्रमित देखिन थालेका छन् ।
हालसम्म गण्डकी प्रदेशका नौ जिल्लामा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँमा ६४, म्याग्दीमा ३३, पर्वतमा २१, लमजुङमा १७, स्याङ्जामा १३ र नवलपुरमा चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । मुस्ताङ र मनाङमा भने हालसम्म डेङ्गु सङ्क्रमित भेटिएको छैन ।
नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गु पुष्टि भएको थियो । सन् २०१९ मा डेङ्गुका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसलाई प्रकोपका रूपमा लिइएको थियो । उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेङ्गु को प्रकोप उच्च रहेको थियो । डेङ्गु फैलिँदा यहाँ व्यापक रूपमा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रमेशकुमार केसीका अनुसार त्यसबेला कास्कीमा बढी सङ्ख्यामा डेङ्गुका बिरामी फेला परेका थिए । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो । उहाँले त्यसबेला घर घरमा पुगेर नियन्त्रण गरिएको बताउनुभयो । बर्खाको सिजन अझै बाँकी भएकाले हेलचेक्रयाइँ गर्न नहुने उहाँको भनाइ छ ।
तीन वर्षअघि पोखरा क्षेत्रमा डेङ्गु फैलँदा नियन्त्रणका लागि घर घरमा पुगेर सङ्कलित पानी फ्याँक्ने, नाला सफा गर्ने, गमला फुटाउने, टायर खाली गर्नेलगायतका काम गर्दा अहिले नियन्त्रणमा सहज भएको उहाँले सुनाउनुभयो ।
डेङ्गुको सुरुवाती लक्षण ज्वरो भएकाले चिकित्सकको सल्लाहबमोजिम मात्र औषधी खान उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार डेङ्गु लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडीवरिपरि दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अङ्गबाट रगत बग्ने सम्भावना रहेको हुन्छ ।
उहाँले सुझाव दिँदै भन्नुभयो, “यसलाई सामान्य रूपमा लिनु हुँदैन । ज्वरो आयो भन्दैमा तत्काल कुनै औषधी खाइहाल्नु हुँदैन । डाक्टरको सल्लाह लिएर औषधी खाने बानी बसालौँ ।” डेङ्गु परीक्षणका लागि प्रदेशभरका जिल्लामा कीट उपलब्ध भइसकेको उहाँले बताउनुभयो ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु एक प्रकारको भाइरस भएकाले फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा लामखुट्टेले फुल पार्ने र त्यो फुल एक वर्षसम्म पनि रहन सक्ने भएकाले सधैँभरि सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । लामखुट्टे फैलनाका लागि ह्युमिडिटी (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ । ६० प्रतिशत ह्युमिडिटी भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ । ६० प्रतिशत ह्युमिडिटीले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन् ।