alliance khabar

सोमबार, चैत्र २३, २०८२

काठमाडौँ चैत २३ गते ।

सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको बढ्दो आयात कम गर्नुका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता एव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले यो निर्णय गरेको जानकारी दिनुभयो । हाल पुराना इन्धनयुक्त सवारीसाधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानुनीव्यवस्था नहुँदा सवारीधनीले समस्या भोग्दै आएका थिए ।

सरकारको यो निर्णयसँगै अब पुराना गाडीलाई कवाडीमा फाल्नुको साटो कम खर्चमा वातावरणमैत्री बनाउन सकिने छ । विद्युतीय सवारीको प्रयोग बढाउँदा इन्धनको परनिर्भरता घटाउने छ भने अर्कातिर नेपालको नवीकरणीय ऊर्जा (विद्युत्) को खपत बढाउन मद्दत गर्ने छ ।

डिजेल/पेट्रोलबाट चल्ने गाडीभन्दा दीर्घकालीन रूपमा विद्युतीय गाडी सस्तो पर्ने र वातावरणमैत्री भएकाले पनि सरकारले यसको प्रयोगलाई जोड दिएको हो । पछिल्लो समय बजारमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएको छ ।

विद्युतीय परिवर्तन उत्पादन तथा वितरण सङ्घका उपाध्यक्ष भरत पौडेलले पछिल्लो समय विद्युतीय सवारीसाधनको माग दोब्बरले बढेको जानकारी दिनुभयो । पश्चिम एसियाली मुलुकमा भएको युद्धको असरले गर्दा पनि नयाँ सवारी किन्नेले विद्युतीय नै किन्ने गरेको उहाँको भनाइ छ ।

पुराना गाडीलाई विद्युतीयमा परिवर्तन गर्दा नेपालकै इन्जिनियरले काम पाउने भएकाले पनि यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुुपर्ने उहाँको भनाइ छ । चार वर्षअघि  सरकारले डिजेल/पेट्रोलका गाडी विद्युतीय सवारीमा परिवर्तन गर्ने निर्णय गरे पनि निर्देशिका नबनेकाले कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ ।

सङ्घका अनुसार बजारमा विद्युतीय साइकल ८० हजारदेखि एक लाख ५० हजार रुपियाँ मूल्य रहेको छ । यस्तै एक लाख ५० हजारदेखि पाँच लाख रुपियाँ मूल्यका विभिन्न डिजाइनका स्कुटर रहेका छन् । यस्तै कार १५ लाख रुपियाँदेखि दुई करोड रुपियाँसम्मका रहेका छन् । पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दै गएपछि सर्भिस सेन्टरसमेत बढ्दै गएका छन् ।

अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीको लागत खर्चसमेत कम पर्ने हुँदा यसको प्रयोग बढ्दै गएको उपभोक्ताको भनाइ छ । पछिल्लो समयमा बजारमा विद्युतीय कार, भ्यान, स्कुटरको प्रयोग धेरै हुने गरेको छ । पेट्रोल, डिजल सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको मर्मत खर्च एकदमै कम हुनुका साथै टायर, ब्याट्री, सर्भिसिङ र सरसफाइ खर्च मात्रै लाग्ने भएकाले विद्युतीय सवारीसाधनको मर्मतसम्भार अन्य सवारीसाधनको तुलनामा कम लाग्ने गरेको व्यवसायी बताउँछन् ।

विद्युतीय सवारीसाधनले पेट्रोल, डिजेल सवारीसाधनले जस्तो वातावरण र मानव स्वास्थ्यलाई असर पु¥याउने कार्बोनमोनोक्साइड ग्यास पनि उत्सर्जन नगर्ने हुनाले विद्युतीय सवारीसाधन वातावरणमैत्री रहेको छ ।

पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्दै आएको छ । त्यसको असर हरेक क्षेत्रमा परेको छ । नेपाल आयल निगमले तीन साताको अवधिमा पेट्रोल लिटरमा ४५ र डिजेल मूल्य लिटरमा ३० रुपियाँ र हवाई इन्धन लिटरमा १२४ रुपियाँ बढाएको छ । तीन सातामा तीन पटक मूल्य बढाउँदा पनि निगमलाई १२ दिनमा ११ अर्ब ७२ करोड रुपियाँ घाटा रहेको छ ।

पेट्रोल, डिजेल सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको सञ्चालन खर्च तीन गुणा कम हुने गरेको व्यवसायीको भनाइ छ । पर्याप्त चार्जिङ स्टेसन नहुँदा यसको प्रयोगमा चुनौती देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल