कल्याणपुर (सप्तरी), चैत ९ गते ।
चारदिनसम्म मनाइने छठपर्वको दोस्रो दिन सोमबार ‘खरना’ गरी मनाइदै छ । पर्वको दोश्रोदिन अर्थात पञ्चमी तिथिमा व्रतालुहरुले दिनभरी उपवास वसी संध्याकालमा ‘खरना’ गरी यो पर्व मनाउँदै छन् ।
खरनाका दिन व्रतालुले नुहाई धुवाई गरी चोखो भएर साँझपख नयाँ वस्त्र धारण गरी आ–आफ्नो इष्ट देवता भएको कोठामा पकाएको पुरी, गुँड, दूध र अरवा चामलको खीर र केरा चन्द्रमालाई चढाउँछन् ।
चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रुपमा ग्रहण गर्दछन् ।
खरनाका सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्ने गर्दछन् । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ अन्तर्गतको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।
‘खरना’ अन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सकर, दूध र गम्हरीको चामलको खीर पकाउने पौराणिक मान्यता रहिआएको छ । तर गम्हरीको चामल नभए धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाउने चलन छ ।
‘खरना’ मा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।
चार दिन सम्म मनाइने यस पर्वको पहिलो दिन आइतबार छठको व्रत बस्ने व्रतालुहरुले ‘चौथी’ मा स्नान गरेर शाकाहारी भोजन ग्रहण गर्नुभयो । जसलाई ‘अरवा अरवाइन’ वा ‘नहाय खाय’ भनिन्छ । यसको अर्थ नुहाएर खानु हो ।
प्रकृतीसँग जोडिएको यो पर्व कसैले सन्तानका लागि त कसैले विभिन्न प्रकारको रोगबाट मुक्त हुने, सन्तान प्राप्ति र दिर्घायु, श्री सम्पत्तिमा वृद्धि हुने लगायतका मान्याताका साथ मनाउने गरेको पण्डित कमलकान्त झाको भनाइ छ ।
धार्मिक ग्रन्थहरुमा सृष्टिको उषाकालदेखि नै छठ पर्वको सुरुवात भएको उल्लेख छ । सूर्यको उपासनाबाट सबै प्रकारका बिरामीहरुबाट मुक्त हुन्छन् । मनमा कामना राखेर छठपर्व गर्नाले छालाको तथा चर्मरोग निको र पुत्रलाभ हुने विश्वास रहिआएको छ ।
हिन्दुधर्मावलम्वीहरुले मनाउने पर्वहरु मध्ये सबैभन्दा कठोर मानिएको छठ पर्व मधेश र कोशी प्रदेशसहित मिथिला संस्कृति मान्ने सबै ठाउँमा मनाइदै आएको छ ।
सूर्यपुराण अनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको पण्डित झाको भनाइ छ ।