काठमाडौँ, कात्तिक २६ गते । कृषि बालीमा प्रयोग गर्न दिइएका सबै विषादी प्रयोगको परीक्षण नहुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा परेको छ । सरकारले १६९ प्रकारका विषादीलाई कृषि बालीमा प्रयोग गर्न अनुमति दिएको छ । परीक्षण भने थोरैको मात्रै हुने गरेको छ । अहिले किसानले प्रयोग गर्दै आएका १६९ विभिन्न विषादीमध्ये १५० प्रकारका विषादी परीक्षण भएको छैन ।विषादीको परीक्षण विस्तार नहुँदा उपभोक्ताको भान्सामा विषादी भएका तरकारी तथा फलफूल र खाद्य पुग्ने गरेका छन् ।
किसानले प्रयोग गर्ने १६९ विषादीमध्ये सरकारले अहिलेसम्म तरकारी बालीमा प्रयोग गरिने कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी मात्र परीक्षण गर्दै आएको छ । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार यी दुई समूहका विषादी परीक्षण गर्दा नेपालमा हाल प्रयोग हुँदै आएका विषादीमा २०/२१ प्रकारलाई समेट्ने गरेको दाबी गर्दै आएको छ ।
बाली विकास अधिकृतका अनुसार पछिल्लो समयमा किसानले सिन्थेटिक पाइरेथ्रोइड कीटनाशक समूहभित्र पर्ने विभिन्न प्रकारका विषादी धेरै प्रयोग गरिरहेको छ । फलफूल तथा तरकारीमा प्रयोग हुने यो समूहका विषादी सरकारले हालसम्म परीक्षण गर्ने गरेको छैन ।
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीका अनुसार कार्बामेट र अर्गानोफस्फेट समूहभित्र २०/२१ प्रकारका विषादी परीक्षण हुँदै आएको छ । किसानले तरकारी तथा विभिन्न बालीमा प्रयोग गर्ने १५० प्रकारका विषादीको परीक्षण हालसम्म गर्न सकिएको छैन । प्रमुख कार्कीले गत वर्षदेखि नयाँ सिन्थेटिक पाइरेथ्रोइड कीटनाशक र डिथियोकार्बामेट फङ्गिसाइड्स विषादी पनि परीक्षण गर्ने प्रयास भएको तर सफल हुन नसकेको जानकारी दिनुभयो ।
अहिले तरकारी तथा फलफूलमा र खाद्यवस्तुमा प्रयोग भइरहेका विषादीमध्ये अधिकांश स्वास्थ्यका लागि हानिकारक छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले कृषि उपजमा प्रयोग हुने विषादीको पर्खिने अवधि तीन दिनदेखि कतिपय विषादी प्रयोग भएको १२५ दिनसम्मका हुने गरेको बताउनुभयो । किसानमा चेतनाको अभावका कारण जुनसुकै विषादी प्रयोग गरे पनि चार/पाँच दिनमै बजारमा पु¥याउने प्रचलनले उपभोक्ताको भान्सा असुरक्षित बनेको उहाँको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा आउने दैनिक उपभोग्य वस्तुमा प्रयोग हुने विषादी परीक्षण गरी उपभोक्तालाई स्वच्छ वस्तु उपलब्ध गराउने विषयमा सरकार जिम्मेवार नभएकाले उपभोक्ताको स्वास्थ्य नै जोखिममा रहेको बताउनुभयो । हरियो तरकारी तथा फलफूलमा मात्र नभएर माछा मासुमा र खाद्यवस्तुमा कीटनाशक औषधीजन्य विषादीको प्रयोग पर्याप्त मात्रामा हुने गरेको उनको भनाइ छ ।
बजारमा भित्रिने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको तरकारीका नमुनाको विषादी परीक्षण २०७१ असार ४ देखि सुरु गरेको थियो । हाल यस्तो प्रयोगशाला सातै प्रदेशका १२ स्थानमा सञ्चालनमा रहेको जनाइएको छ ।
सो प्रयोगशाला प्रमुख कार्कीका अनुसार हाल कोशी प्रदेशमा झापा बिर्तामोड, सुनसरीको धरान, मधेश प्रदेशको सर्लाही नवलपुर, धनुषा ढल्केबर र बागमती प्रदेशको सिन्धुली सिन्धुलीमाढी, काठमाडौँको कालीमाटीमा सञ्चालनमा छन् । यस्तै गण्डकी प्रदेशको कास्की पोखरा, नवलपरासी कावासोती, लुम्बिनी प्रदेशको रुपन्देही बुटवल, बाँके नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगर र सुदूरपश्चिमको कैलालीको अत्तरियामा प्रयोगशाला सञ्चालनमा रहेका छन् ।
सरकारले तरकारीमा विषादीको अवशेषका बारेमा मापदण्ड निर्धारण गरेको छ । जस अनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखिए उपभोग गर्न मिल्छ । यसै गरी ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिनलाई राखेर उपभोग गर्न मिल्छ । ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखियो भने खान नहुने अर्थात् नष्ट गर्नुपर्ने मापदण्ड छ ।
आव २०८१/८२ मा देशभर ११ हजार २०७ नमुना परीक्षण गर्दा ५९ नमुनामा खान नमिल्ने विषादीको अवशेष पाइएको थियो । २६ वटा नमुना केही दिन राखेर प्रयोग गर्न सकिने पाइएको थियो । यस अवधिमा खान नमिल्ने विषादीको अवशेष सबैभन्दा धेरै कैलालीको अत्तरियाको प्रयोगशालामा १३ वटा नमुना रहेका छन् भने सिन्धुलीको सिन्धुलीगढी प्रयोगशालामा खान नहुने विषादी प्रयोग नभएको पाइएको थियो ।
पचासी प्रतिशत तरकारीमा
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार गएको वर्ष नेपालमा १६९ प्रकारका १८ लाख ६४ हजार ३८१ केजी विषादी भित्रिएको छ । जसमा सबैभन्दा धेरै ६६ वटा कीटनाशक, ढुसीनाशक ४८ वटा, झारनाशक ३९ वटा छन् भने अन्य सुलसुले, ब्याक्टेरिया, मुसानाशक, बायोलोजीका छन् । भित्रिएको विषादीमध्ये ८५ प्रतिशत हरियो तरकारी र फलफूलमा प्रयोग हुने गरेको सो केन्द्रले जनाएको छ ।
