रसुवा, साउन ११ गते ।
नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो ।
चीन सरकारले आइतबारबाट पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । यसअघि शनिबार प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा नेपाली पक्षको उच्चस्तरीय टोलीले मितेरी पुल क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।
अवलोकनका क्रममा दुवै देशका अधिकारीहरूबीच निर्माणस्थलमै भर्चुअल बैठक सम्पन्न भएको र त्यस बैठकमा बाढीपछिका उद्धार तथा राहतका काम, पुनर्निर्माणको प्राथमिकता र स्थायी संरचनाको योजना विषयमा विस्तृत छलफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार, शीघ्र गतिमा सुरु भएको यो अस्थायी पुल निर्माणले स्थानीय बासिन्दा, व्यापारी र सीमा पारका सेवाग्राहीहरूलाई अत्यावश्यक आवागमनमा तत्कालीन राहत दिने अपेक्षा गरिएको छ । स्थायी पुलको पुनर्निर्माणको प्रक्रिया पनि दुवै देशको उच्च प्राथमिकतामा रहेको जानकारी दिइएको छ ।
बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभयो । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।