alliance khabar

बुधबार, साउन ०७, २०८२

काठमाडौँ, साउन ७ गते ।

 गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको निर्माण सुरु भएको छ । रसुवागढीस्थित ल्हेन्देखोलामा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको सडक विभागले जनाएको छ ।

विभागका प्रवक्ता प्रभातकुमार झाले नेपाल–चीन सीमास्थित मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडकलगायतका संरचनाको निर्माण कार्य सुरु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार चीन सरकारले सो निर्माण सुरु गरेको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका ठप्प भएको थियो । बाढीपहिरोले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म विभिन्न स्थानमा गरेर करिब एक किलोमिटर सडक बगाएको थियो, जस कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको आवतजावत ठप्प भएको थियो । त्यसै गरी सोही दिनको बाढीपहिरोले रसुवागढीबाट केरुङतर्फ जाने २५ किलोमिटर सडकमा समेत क्षति पु¥याएको थियो ।

यसअघि सरकारले रसुवागढीमा बाढीपहिरोले बगेका पुललगायतका संरचना निर्माण गरी यथाशक्य सो नाका सञ्चालनका लागि चीनलाई आग्रह गरेको थियो । साउन १ गते सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भएको भेटमा मन्त्री दाहालले राजदूत चेनसँग सो आग्रह गर्नुभएको थियो । राजदूत चेनले दसैँअघि नै मितेरी पुल भएको ठाउँमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भदौ ३० गतेसम्म निर्माण सम्पन्न

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीपहिरोबाट बगेको मितेरी पुलको ठाउँमा बेलिब्रिजलगायतका संरचनाको निर्माण भदौ ३० गतेसम्म सम्पन्न गरिसक्ने जानकारी चिनियाँ पक्षले गराएको बताउनुभयो । उहाँका अनुसार प्रतिबद्धताबमोजिम चीनले तीव्र गतिमा काम गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले अहिले स्याफ्रुबेँसी–रसुवागढी सडकमा सवारीसाधन सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सो सडकमा बसलगायतका हलुका सवारीसाधन सञ्चालनमा आएका छन् । मालवाहक ट्रकलगायतका ‘हेभी’ सवारीसाधन सञ्चालनमा तत्कालका लागि रोक लगाइएको छ । यसअघि स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १६ किलोमिटरमा आवतजावत बन्द भएको थियो ।

सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले सडकको अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्र स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म मालवाहक ट्रकलगायतका ‘हेभी’ सवारीसाधन सञ्चालनमा ल्याउन सकिने बताउनुभयो । चीन सरकारले मितेरी पुलमा बेलिब्रिज निर्माण गरुन्जेल नेपालतर्फका सडक संरचना पूर्ण रूपमा मर्मत भइसक्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल