alliance khabar

बिहिबार, आषाढ २६, २०८२

काठमाडौँ, असार २६ गते ।

 नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देशमा जाने नेपाली श्रमिकले न्यून पारिश्रमिकमा नै काम गरिरहेका छन् । मध्यपूर्वका संयुक्त अरब इमिरेटस् (युएई), कतार, साउदी अरब र मलेसियामा न्यून पारिश्रमिकमा नै काम गर्न बाध्य छन् ।

नेपाली कामदारको पहिलो श्रम गन्तव्य देश युएईले श्रमिकलाई दिने पारिश्रमिक असाध्यै न्यून भएपछि नेपाल सरकारले तोकेको पारिश्रमिक भर्खर कार्यान्वयनमा आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि दोस्रो संशोधनमार्फत युएईका लागि गत जेठमा तोकेको पारिश्रमिक यही असारको दोस्रो सातादेखि कार्यान्वयनमा आएको जनाइएको हो ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्म झन्डै दुई लाख नेपाली श्रम स्वीकृति लिएर युएई गएका छन्, जसमा सबैभन्दा धेरै तल्लो तहमा काम गर्ने छन् । उनीहरूको पारिश्रमिक न्यून छ । त्यसकारण सरकारले ती श्रमिकलक्षित  न्यूनतम पारिश्रमिक एक हजार दिराम (३७ हजार १६० रुपियाँ) तोकेको मन्त्रालयले जनाएको छ । त्यसअघि युएईमा काम गर्ने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक आठ सय दिराम (२९ हजार ७२८ रुपियाँ) मात्रै थियो ।

श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले युएईमा तल्लो तहमा काम गर्ने श्रमिकको पारिश्रमिक असाध्यै न्यून भएकाले वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था टेकेर युएईको हकमा न्यूनतम पारिश्रमिक तोकेको जानकारी दिनुभयो ।

श्रमिकको पारिश्रमिक तोक्ने विषय सम्बन्धित गन्तव्य देशको हो तर युएईलाई यस विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि नेपाली श्रमिकको पारिश्रमिक नबढेपछि श्रम मन्त्रालयले तोक्नु परेको उहाँको भनाइ छ । प्रवक्ता घिमिरेले गन्तव्य देशमा नेपाली श्रमिकले उत्पादनमा पुर्‍याएको योगदान र त्यसले आयस्रोतमा परेको प्रभावलाई मूल्याङ्कन गरेर पारिश्रमिक तोक्न पाउने कानुनी व्यवस्था अनुसार हाल युएईका लागि पारिश्रमिक तोकेको जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक तोकेसँगै वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले तोकेभन्दा कम पारिश्रमिकमा श्रमिक पठाउन पाउने छैन ।

अघिल्लो वर्ष सरकारले मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार सात सय रिङ्गेट (५४ हजार चार सय रुपियाँ) निर्धारण गरेको थियो । दोस्रो प्रमुख श्रम गन्तव्य देश साउदी अरबको न्यूनतम पारिश्रमिक एक हजार तीन सय रियाल (४६ हजार आठ सय रुपियाँ) रहेको छ । कतारमा काम गर्नेको आप्रवासी श्रमिकको खाना र आवाससहित न्यूनतम पारिश्रमिक एक हजार सात सय रियाल (६३ हजार ९३७ रुपियाँ) छ ।

सरकारले तयार पारेको कार्यविधि अनुसार युएई जाने नेपाली श्रमिकको करार सम्झौतापत्रमा एक हजार दिराम (३७ हजार १६० रुपियाँ) भन्दा बढी उल्लेख गरेको हुनु पर्छ । नयाँ पारिश्रमिक अदक्ष श्रमिकका लागि न्यूनतम एक हजार दिराम, मासिक खाना खर्च चार सय दिराम वा त्यसमाथि गरी कुल एक हजार चार सय दिराम (५२ हजार २४८ रुपियाँ) भन्दा माथि हुनुपर्ने छ ।

अर्धदक्ष श्रमिकका लागि एक हजार दुई सय दिराम वा त्यसभन्दा माथि पारिश्रमिक, खाना खर्च चार सय दिराम गरी कुल एक हजार छ सय दिराम (५९ हजार ७१२ रुपियाँ) वा सोभन्दा माथि हुनुपर्ने छ ।

यस्तै कार्यविधिमा युएईमा काम गर्ने दक्ष श्रमिकका हकमा न्यूनतम पारिश्रमिक एक हजार पाँच सय दिराम, खाना खर्च चार सय दिराम वा त्यसभन्दा माथि गरी कुल एक हजार नौ सय दिराम (७० हजार ९०८ रुपियाँ) हुनुपर्ने उल्लेख छ ।

उच्च दक्ष श्रमिकका हकमा न्यूनतम पारिश्रमिक छ हजार दिराम वा त्यसमाथि हुनु पर्छ । यसमा खाना खर्च चार सय दिराम जोडेर छ हजार चार सय दिराम (दुई लाख ३८ हजार ८४८ रुपियाँ) र सोभन्दा माथि हुनुपर्ने कार्यविधिमा उल्लेख छ । अबदेखि युएईको हकमा एक हजार दिराम वा त्यसभन्दा कम सुविधामा आएको मागपत्र दूतावासले प्रमाणीकरण गर्न पाउँदैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल