alliance khabar

मंगलबार, आषाढ १७, २०८२

नारायणगढ, असार १७ गते ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा स्वरूप परिवर्तन गरेर जङ्गल सफारीमा प्रयोगमा आइरहेका सवारीसाधनलाई निकुञ्जले रोक्न सकेको छैन ।

गत वर्षदेखि नै यस्तो कार्य रोक्ने भनिए पनि ठोस पहल हुन सकेको छैन । गत माघमा ट्राफिक प्रहरीले एउटा गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गरेपछि निकुञ्जमा स्वरूप परिवर्तन गरेर जिप सञ्चालन गरिएका घटना सार्वजनिक भएको थियो ।

भरतपुर विमानस्थलबाट पर्यटक लिएर सौराहा जाँदै गरेको जङ्गल सफारी लजको ग. १ य ६१० नम्बरको गाडी ट्राफिक प्रहरीको चेकिङमा कारबाहीमा परेको थियो । ब्लुबुकमा दुई यात्री मात्रै लेखिएको गाडीमा सिट सङ्ख्या थपेको पाइएपछि ट्राफिक प्रहरीले त्यो गाडीलाई सात हजार पाँच सय रुपियाँ जरिबाना गरेको थियो ।

ट्राफिक प्रहरीका अनुसार चितवनमा एक वर्षमा स्वरूप परिवर्तनका १०६ वटा सवारीसाधनलाई कारबाही गर्दा पर्यटक बोक्ने भने एउटालाई मात्र कारबाही गरिएको छ । त्यसपछि भने निकुञ्ज र ट्राफिक प्रहरी कतैबाट पनि थप पहल भएन । यस विषयमा निकुञ्ज र सम्बन्धित व्यवसायीले लापर्बाही गरेको स्थानीयले बताएका छन् । ब्लुबुकमा दुई जना मानिस बोक्न मिल्ने सवारीसाधनमा अहिले १०/१२ जना यात्रु बोकिरहँदा र त्यसले भोलि कुनै पनि दुर्घटना भए यसको जिम्मेवारीमा समस्या पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त ब्लुबुकमा लिएको यात्री सङ्ख्याका आधारमा गाडीमा के कति यात्रु छन् भनेर निरीक्षण गर्ने अधिकार निकुञ्जलाई नभएको बताउनुहुन्छ । “यो काम ट्राफिक प्रहरीको हो, हाम्रो होइन । हामीले त निकुञ्जभित्रको सुरक्षा अवस्थालाई ध्यान दिने हो,” उहाँले भन्नुभयो ।

चितवनका ट्राफिक प्रहरी निरीक्षक गायत्रीराज शर्मा भने निकुञ्जभित्रको अनुगमन आफूहरूले गर्न नमिल्ने बताउनुहुन्छ । “निकुञ्जभित्र सञ्चालनमा आएका सफारीका गाडीका सम्बन्धमा स्वरूप परिवर्तनका कुरा नआएका होइनन् तर हामी निकुञ्जभित्र पसेर कारबाही गर्न सक्दैनौँ,” उहाँले भन्नुभयो । उहाँले निकुञ्जबाहिर यसरी सवारीसाधन सञ्चालनमा आए आफूहरूले कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐन अनुसार सवारीको रङ, सिट सङ्ख्या पार्टपुर्जा र इन्जिनमा कुनै परिवर्तन गर्न पाइँदैन । त्यस्तो गरेमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिई यातायात कार्यालयमा बुझाउनु पर्छ । कार्यालयले यस्ता सवारीसाधनका धनीबाट सात हजार रुपियाँ जरिबाना गर्ने र परिवर्तन गरिएको स्वरूप र सिट सङ्ख्यालाई ब्लुबुक अनुसार नै कायम गर्नुपर्ने कानुनी व्यवस्था छ ।

गाडी सञ्चालकका अनुसार सफारीका लागि भनेर छुट्टै गाडी बनेका छैनन् । अहिले भएका गाडीकै स्वरूप परिवर्तन गरेर चलाउने हो । सफारीमा चल्ने गाडीको सिट कायम गरिदिए सरकारलाई तिर्नुपर्ने कर पनि तिर्न आफूहरू तयार रहेको व्यवसायीको भनाइ छ ।

सौराहा जिप तथा डुङ्गा बुकिङ सेन्टरका सचिव राममणि खनाल आफूहरूले बागमती प्रदेश सरकारलाई यस सम्बन्धमा पटक पटक अनुरोध गर्दा पनि कानुन नबनेको बताउनुहुन्छ । “पर्यटक बोक्ने जस्तो संवेदनशील सवारीसाधन भएकाले यसको हकमा प्रक्रिया पूरा गरेर सञ्चालन गरौँ भन्ने हाम्रो पनि मान्यता हो । अहिले यस विषयमा कानुन बन्ने चरणमा छ । बागमती प्रदेश सरकारले यसको मसौदा तयार गरेर कानुन बनाउने अन्तिम तयारी गरेको छ,” उहाँले भन्नुभयो ।  सौराहामा मात्र एक सयभन्दा बढी त्यस्ता गाडी सफारीमा प्रयोग गरिएको छ । निकुञ्जभित्र पर्यटक बोक्न ६० वटा सवारीसाधनले अनुमति लिएका छन् ।

यसैबिच वर्षाका कारण चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र हुने गरेको जिप सफारी अनिश्चितकालका लागि रोकेको छ । जङ्गलमा झाडी र खोला बढेका कारण सफारी बन्द गरिएको निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल