चन्द्रपुर (रौतहट), असार ९ गते ।
रौतहटमा रहेको पूर्वाधार विकास कार्यालयको बजेट खर्च हालसम्म ४५ प्रतिशत मात्र पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको भुक्तानी अवधि सकिन बाँकी रहेको १७ दिनमा ५५ प्रतिशत खर्च हुने अवस्था रहेको छ ।
कार्यालयका लेखा अधिकृत सुदिप गौतमका अनुसार तीन सय ३० को हाराहारीमा कार्यक्रम रहेकोमा अधिकांश योजना सञ्चालनमै छन् । आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयको बजेट करिव एक अर्ब ५० करोड रहेको लेखा अधिकृत गौतमले बताउनुभयो ।
कार्यालय प्रमुख दिपककुमार मिश्रले बहुवर्षीय योजनाभन्दा पनि सालवसाली योजनामा बढी ध्यान केन्द्रित गरिएको बताउनुभयो । उहाँले हरेक योजनाको अनुगमन गर्ने गरिएको, प्राविधिकको रेखदेखमा काम गराउने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
ल्याव टेस्ट समेत गर्ने गरिएको बताउनुहुँदै कार्यालय प्रमुख मिश्रले कामको गुणस्तरका लागि कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
रौतहटको मुहार फेर्न प्रदेश सरकारले गौरवको योजना समेत सञ्चालन गरिरहेको कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो ।
समयमा काम सम्पन्न गरेर भुक्तानी लिन कार्यालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/०८२ मा सम्झौता भएका योजनाहरुको भुक्तानीका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम ७ र ८ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगाडिसम्म मात्र भुक्तानी हुने हुँदा असार २० गतेसम्म आवश्यक कागजात लेखा शाखामा उपलब्ध गराई दिन अनुरोध गरेको छ ।
कार्यालयका अनुसार असार २५ गतेसम्म भुक्तानी हुने भएता पनि भुक्तानीको चापका कारण आइपीएफएमएस प्रणाली ढिला चल्ने भएका कारण समयमै कागजात बुझाउन सूचना जारी गरिएको जनाएको छ ।
असार २० गते भित्र भुक्तानीसँग सम्बन्धित कागजात दर्ता हुन नआए त्यसको जिम्मेवारी सम्बन्धित उपभोक्ता, निर्माण व्यवसायी तथा साइड इन्जिनियर हुने कार्यालयका प्रमुख मिश्र तथा लेखा अधिकृत गौतमद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । गत आर्थिक वर्षमा समयमा भुक्तानीका लागि कागजात नबुझाएका सात वटा योजनाको भुक्तानी हुन सकेको थिएन ।