alliance khabar

शनिबार, जेठ १०, २०८२

बागलुङ, जेठ १० गते ।

 ट्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट बञ्चित बनेका बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीबासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्याक खोलेको ओढोरचौर–ढोडेनी कालोपत्र गरिएको हो ।

सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रको काम सुरु भएको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । साढे दुई किमी लम्बाईको सडकलाई ८ देखि १० मिटरसम्म चौडा बनाईएको र साढे पाँच मिटरमा अस्फल्ट प्रविधिको कालोपत्र गरिने छ ।

सहरी शासकीय तथा पूर्वाधार सुधार कार्यक्रममार्फत तरकारी गाउँले परिचित ढोडेनी कालोपत्र सडकले जोडिएको हो । तरकारी र दुध उत्पादन गरेपनि जीर्ण सडकले समयमै बजार पठाउन नसक्दा निराश किसानमा सडक कालोपत्र भएपछि सहज आवातजावत र कृषि उपज ढुवानीमा राहत मिल्ने भएपछि खुशीयाली छाएको छ । स्थानीयले गैँची र कोदालोको सहाराले ओढारचौरको पहरो काटेर सडक बनाएको ढोडेनीका प्रेमप्रसाद आचार्यले विगत कोट्याउनुभयो ।

तत्कालिन जिल्ला विकास समितिको पाँच लाख रुपियाँ बजेट र ३६ दिनको श्रमदानबाट बनेको मोटरबाटो स्तरोन्नतिसहित कालोपत्रे ढोडेनीवासी दङ्ग छन् । ‘‘हामीले दुःखझेलो गरेर बनाएको बाटो छोरानातीको पालामा कालोपत्र भयो ।’’ आचार्यले भन्नुभयो । यो सडकको साढे दुई किलोमीटर सडक कालोपत्र भएपछि कालीगण्डकी नदीको झोलुङ्गे पुल तरेर पर्वतको लस्ती, मालढुङ्गा हुँदै बागलुङ बजार पुग्नुपर्ने बाध्यता अन्त्य भएको ढोडेनीका ७६ वर्षीय जिवानन्द सापकोटाले बताउनुभयो ।

पर्वतको लस्ती, धाइरिङ र बागलुङको ढोडेनीका किसानले उत्पादन गरेका तरकारी, फलफूल र दुध म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री गर्छन् । ‘‘सडक कालोपत्रे भएपछि हामीलाई धेरै फाइदा पुग्छ’’ लस्तीका दुध उत्पादक कृषक टेबहादुर क्षेत्रीले भन्नुभयो । पर्वतको लस्ती, खनियाघाट, मालढुङ्गा हुँदै १५ किलोमीटर दूरी पार गरेर बागलुङ बजार पुग्नुपर्ने नागरिकलाई उपल्लाचौर–ढोडेनी सडक कालोपत्र भएपछि ७ किमी दूरी छोटो पर्ने छ ।

नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्ने गरी सुरु गरेका तीन सडकमध्ये बागलुङ नगरपालिका वडा नं. १ रामरेखाको गणेश घुम्तीदेखि निरयघाट जोड्ने १ किलोमिटर ६ सय मिटर लम्बाईको सडक कालोपत्र गर्ने काम सकिएको छ भने ओढारचौर–ढोडेनी सडकमा अहिले कालोपत्रको काम चलिरहेको छ । यस्तै, वडा नं. ७ को मुलपानीदेखि तितौरेसम्मको साढे ८ किमी सडक कालोपत्र गर्ने तयारी भइरहेको छ ।

विश्व बैँकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोड रुपियाँमा तीन सडक स्तरोन्नतिसहित कालोपत्रको काम गरिरहेको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुहुन्छ । यसअघि विश्व बैँकको सहयोगमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरदेखि वडा नं. ६ सम्मको ७ किमी सडक कालोपत्र भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल