तम्घास (गुल्मी), जेठ ५ गते ।
पहिले गाउँमा सडक, स्वास्थ्य र शिक्षाको अभाव भन्दै मानिसहरू सहरमा बसाइँसराइ गर्थे । अहिले पूर्वाधार विकास गाउँतिर उकालो चढ्दै छ, गाउँका मानिस ओरालो झर्दै छन् । गाउँका टोलबस्तीमा सडक सञ्जाल पुगेको छ, बाटाहरू स्तरोन्नत हुँदै गएका छन् । ग्रामीणस्तरमा नै माध्यमिक तहसम्मको पढाइ हुन्छ भने स्वास्थ्यको राम्रै प्रबन्ध मिल्दै गएको छ । पालिकास्तरमै सुविधासम्पन्न १५ श-याका अस्पताल निर्माणाधीन छन् तर गाउँबाट बसाइँसराइको दर भने घटेको पाइँदैन ।
गाउँका कृषियोग्य जमिन बाँझै छन् । बसाइँसराइले गाउँबस्ती रित्तिँदै जाँदा घरमा ताला लगाउने र केही घरमा वृद्धवृद्धाबाहेक अन्य देखिन छाडेका छन् अर्थात् गाउँमा विकास हुँदै जाँदा पनि गाउँ सुनसान जस्तै बन्दै गएका छन् ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको कालोपत्रेको काम भइराखेको छ । प्रत्येक गाउँका बस्ती बस्तीमा सडक र विद्युत् पुगेको छ भने खानेपानीको पहुँच पनि पुगेको छ । यसका साथै स्वास्थ्य सुविधालाई पनि थप प्रभावकारी बनाउँदै लगिएको गाउँपालिकाले जनाएको छ तर गाउँपालिकाबाट बसाइँसराइ गर्नेको दर घट्न सकेको छैन । गत आर्थिक वर्षको असार मसान्तसम्म गाउँपालिकाबाट १५६ परिवारका ५४६ जना बसाइँसराइ गरी गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । पालिकाभित्रका सात वटामध्ये सबैभन्दा बढी वडा नम्बर २ अर्वेनी र वडा नम्बर ६ खड्गकोटबाट ३२ घरपरिवारले बसाइँसराइको प्रमाणपत्र लगेका छन् । वडा नम्बर १ बाट १९, २ बाट ३२, ३ मा नौ, ४ बाट १५, ५ बाट २४, ६ बाट ३२ र ७ बाट २५ परिवार बसाइँसराइ गरी गएको गिरीले बताउनुभयो । एक वर्षमा पालिकाभित्र छ परिवारका १४ जना अन्यत्रबाट बसाइँ सरी आएको आफूहरूको तथ्याङ्कमा रहेको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षको हालसम्म गाउँपालिकाबाट बसाइँसराइ गरी ९१ घरपरिवारले गाउँ छाडेको पालिकाको पञ्जीकरण शाखाले जनाएको छ । शाखाका अनुसार ९१ घरपरिवारका ३४८ जनाले बसाइँसराइ लगेका छन् । यस अवधिमा आठ घरपरिवारका ३९ जना अन्यन्त्रबाट बसाइँ सरी पालिकाभित्र आएका छन् । चालु आर्थिक वर्षको हालसम्म वडा नम्बर १ बाट १३ घरपरिवारका ६९ जना, २ बाट १७ परिवारका ७४ जना, ३ बाट छ परिवारका ३० जना, ४ बाट नौ परिवारका ३५ जना, ५ बाट १२ परिवारका ३५ जना, ६ बाट १६ परिवारका ४९ जना र ७ बाट १८ परिवारका ५६ जना रहेको गाउँपालिकाले जनाएको छ ।
यता कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले गाउँमा विकास हुँदै जाँदा पनि बसाइँसराइको दर भने घटाउन नसकिएको बताउनुभयो । पहिलेभन्दा अहिले गाउँमा धेरै विकास हुँदा पनि बसाइँसराइ भने रोक्न नसकिएको उहाँको भनाइ छ । गाउँका प्रत्येक टोलमा सडक, खानेपानी, विद्युत्, स्वास्थ्य र शिक्षाको सुविधा हुँदा पनि गाउँ छाड्न नछोडेको उहाँले बताउनुभयो । बसाइँसराइ रोक्नका लागि गाउँमै व्यावसायिक कृषि र पशुपालनमा जोड दिँदै आएको थापाले बताउनुभयो ।
कृषि र पशुपालनलाई व्यावसायिक गराई बसाइँसराइ रोक्न सकिन्छ कि भन्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ । यस्तै फलफूलका बिरुवा रोपण गर्नेलाई खाडल खन्न अनुदान दिने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी पालिकाले नीति तथा कार्यव्रmम बनाएर बजेटको समेत व्यवस्था गरेको र आगामी वर्षका लागि सोही अनुसारको योजना बनाएको प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो ।