काठमाडौँ, वैशाख १८ गते ।
जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरूले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमिक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् ।
उनीहरूले कतिपय ठुला उद्योगी व्यवसायीहरूले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरू ‘एम्बुस’ बन्दै गएको आरोप लगाए । एक सय ३६ औं श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले श्रमिकको हकहितका लागि ट्रेड युनियनहरूको खबरदारी नपुगेको बताउनुभयो ।
उहाँले कतिपय ठुला उद्योगी व्यवसायीहरूले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरू ‘एम्बुस’ बन्दै गएको आरोप लगाउनुभयो । सिम्खडाले श्रमिकहरूको बाँच्न पुग्ने तलबभत्ता नहुँदा श्रमिकहरू विदेशीन बाध्य भएको स्पष्ट पार्नुभयो । उहाँले श्रमिकको हक हितमा ऐन नियमहरू बनाइरहँदा श्रमिकको जीवनमा उज्यालो आउँछ भन्ने सोच्दासोच्दै श्रम सुरक्षाका नाममा अधिकारहरू साट्न बाध्य हुनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘एक सय ३६ वर्ष अघिबाट सुरु भएको आठ घण्टे कार्यदिन सबै ठाउँमा लागु भइरहेको छैन । नेपालको सन्दर्भमा भएका आन्दोलनबाट प्राप्त संविधानको जगमा टेकेर बनाइएका श्रम ऐन, सामाजिक सुरक्षा ल्याइसकेपछि श्रमिकको जीवनमा उज्यालो आउँछ भन्ने सोचे पनि श्रम ऐनको दफाहरूमा उल्लेख भएका दफाहरू पनि खोसिने जोखिम बढेको छ । संविधानको मौलिक हकमा उल्लेख भएका हकहरू पनि कुण्ठित हुँदै गएका छन् । बैँक वित्तिय क्षेत्रमा श्रम ऐन लागु हुँदैन तर त्यही ऐन होटल तथा रेस्टुरेन्टमा लागु हुँदा । रोजगारदाताहरू सामाजिक सुरक्षा कार्यान्वयन अगाडि नबढ्नेतर्फ गइरहेका छन् ।’’
कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित श्रमिक क्षेत्र भएको बताउनुभयो । उहाँले श्रम बजार परिवर्तन भएको र शोषणका रूपहरूसमेत परिवर्तन भएको उल्लेख गर्दै नयाँ श्रमिकहरूमा मजदुर आन्दोलन सशक्त हुन नसकेको भ्रम रहेको जानकारी दिनुभयो । उहाँले श्रमिकका हकहितमा हासिल गरिएका उपलब्धिहरूलाई व्यवहारमा उतार्न नसकिएको स्वीकार गर्नुभयो । अध्यक्ष श्रेष्ठले केही समयअघि दुई सय ४० दिन काम गरेसँगै स्थायी हुनुपर्ने प्रावधान रहेको भए पनि हाल एक घण्टा काम गरेपनि स्थायी सरह सेवा सुविधा दिनुपर्छ भन्ने खालको कानुन आइसकेको बताउनुभयो । सामाजिक सुरक्षाको व्यवस्था भइसकेको तर सबैतिर लागु नहुँदा समस्या जस्ताको तस्तै देखिएको बताउनुभयो । कार्यान्वयनमा अरूले बोलिदिए हुन्थ्यो कि भन्ने अवस्थाका कारण श्रमिक वर्गको उत्थानमा समस्या रहेको अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘जलवायु परिवर्तनको असरका कारण सबैभन्दा बढी भिक्टिम श्रमजीवी वर्ग नै छ । हिजोभन्दा आज अवस्था परिवर्तन भएको छ । आफ्नो काम गर्ने कर्मथलो परिवर्तन भएको छ । कृषि क्षेत्रका मजदुर त्यत्तिकै प्रभावित छन् । किनभने पानी पर्ने समयमा घाम लाग्ने र घाम लाग्ने समयमा पानी लाग्ने अवस्थाले नेपालको कृषि क्षेत्रका मजदुर प्रभावित छन् ।’’
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर अनौपचारिक क्षेत्रका श्रमिक, अझ त्यसमा पनि महिला श्रमिक बढी प्रभावित भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनसँगै श्रमिक क्षेत्र प्रभावित भएको र त्यसमा पनि महिला श्रमिक अझ बढी प्रभावित भएको बताउँदै जलवायु परिवर्तनसँगै कामको संसारमा परिवर्तन आएको बताउनुभयो । जलवायु परिवर्तनले यातायात, पर्यटन, कृषि, निर्माणलगायत अधिकांश क्षेत्रमा असर परेको र श्रमजीवीले रोजगारी गुमाउनु परिरहेको र यसमा नेपाल सरकारले जुन रूपमा काम गर्नुपर्ने हो त्यो नगरेको अध्यक्ष कुँवरको भनाइ थियो ।
उहाँले केही समयअघि आएका बाढी, पहिरो लगायतका कारण खोला किनारामा काम गर्ने श्रमिक महिला बढी मारमा परेको उल्लेख गर्दै परिवर्तित सन्दर्भमा श्रमिकहरूको क्षमता, दक्षता र सीपलाई परिमार्जित गर्ने गरी काम भइरहेको अध्यक्ष कुँवरले दाबी गर्नुभयो । उहाँले पछिल्लो समयमा श्रमिकको हकहितका लागि कुनै काम भएनन् भन्ने अवस्था नरहेको भन्दै श्रमका सन्दर्भमा नीतिगत संरचनाहरु बनेको दाबी गर्नुभयो । तर कार्यान्वयनका सन्दर्भमा जुन रफ्तारमा काम हुनुपर्ने थियो त्यसमा सरकारको संयन्त्रहरूले राम्रोसँग काम नगरिदिँदा कार्यान्वयन हुन नसकेकोले गुनासो बढीरहेको स्पष्ट पार्नुभयो ।
यसैगरी, कार्यक्रममा जिफन्ट महिला विभाग अध्यक्ष सीता लामाले महिला श्रमिकको अवस्था धेरै पीडामा रहेको बताउनुभयो । उहाँले महिला श्रमिक पितृ सत्तात्मक सोच र चिन्तनले ग्रस्त समाजबाट पीडित रहेको बताउनुभयो । साथै, उहाँले जलवायु परिवर्तनले सबैभन्दा बढी पारेको श्रमिक वर्गलाई र त्यसमा पनि महिला श्रमिक धेरै पीडित रहेको दाबी गर्नुभयो । उहाँले पेशा र कामको प्रकृति फरकफरक भए पनि महिला श्रमिक कार्यथलोमा समेत शोषित भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘जलवायु परिवर्तनको असर सबैभन्दा बढी श्रमिक क्षेत्रमा परेको छ । अझ त्यसमा पनि महिला श्रमिकहरू अझ बढी प्रभावित भएका छन् । सुख्खा पन बढ्दो भएपछि घरपरिवारलाई सुव्यवस्थित रूपमा दैनिक चलाउने क्रममा पानीको जोहो गर्न लामो समय पानी व्यवस्थापनमा खर्चिनुपर्ने भएकोले काम गर्ने समय कटौति भएको छ । त्यसैले जलवायु परिवर्तनले महिला श्रमिक बढी प्रभावित भएका छन् ।’’
कार्यक्रममा श्रमिक नेताहरूले दैनिक आठ घण्टा काम, आठ घण्टा आराम भनिए पनि नेपालमा भने व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका थिए ।