जाजरकोट, वैशाख १५ गते ।
जाजरकोट र रुकुमपश्चिम जोड्ने एक सय वर्ष पुरानो पुल जीर्ण भएको छ । जाजरकोटको भेरी नगरपालिका–११, मटेला र रुकुमपश्चिम चौरजहारी नगरपालिका–३, स्यालखोला जोड्ने मटेलाको सय वर्ष पुरानो झोलुङ्गे पुल सरोकारवाला निकायको बेवास्ताका कारण जीर्ण बनेको हो । सदरमुकाम खलङ्गासहित भेरी नगरपालिका–१ देखि १३ सम्मका सर्वसाधारण चौरजहारी बजार आउजाउ गर्ने नाकाका रूपमा रहेको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएको छ ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीका अनुसार तत्कालीन राजा श्री ३ चन्द्रशमशेर शाह कर्णेलले यहाँका हरिविक्रम शाहकी छोरी बालकुमारी शाहसँग विसं १९६३ मा विवाह गर्नुभएको थियो । बालकुमारी माइतीगाउँ आउनलाई गाह्रो भएपछि विसं १९८० मा सो पुल निर्माण गरिएको थियो । लामो इतिहास बोकेको सो पुल मर्मतमा ध्यान नदिँदा जीर्ण हुँदै गएको हो । ठाउँ ठाउँमा पक्की पुल निर्माण अलपत्र परेपछि सोही झोलुङ्गे पुलबाटै मोटरसाइकल आउजाउ गराउने गरिएको छ । जसका कारण पुल जीर्ण हुँदै गएको केसीले बताउनुभयो ।
नेपालगन्ज, काठमाडौँबाट आउने, चौरजहारी नगरपालिकाका स्थानीयले उत्पादन गरेको खाद्यवस्तु, घोडा तथा खच्चडबाट सामान ढुवानी, सरकारी कार्यालयका प्रमुख, सर्वसाधारण सोही पुलबाट आउजाउ गर्दछन् । २०५२ सालमा तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका क्रममा माओवादीले स्थानीय प्रशासन, सरकारी कार्यालयलाई प्रभावित पार्न सोही पुलका काठ, फल्याक निकाली फालेपछि त्यतिबेलादेखि नै पुल जीर्ण हुँदै गएको बताइएको छ ।
भेरी नगरपालिका–११ का स्थानीय मुक्तिप्रसाद आचार्यका अनुसार करिब २५ वर्षअघि सो पुलबाट वारपार गर्न पैसा तिर्नु पर्दथ्यो । तत्कालीन जिल्ला विकास समितिले जनताबाट उठाएको करले पुल मर्मत हुन्थ्यो भन्दै उहाँले अहिले मर्मतका लागि तीन वटै सरकारले चासो नदेखाएको गुनासो गर्नुभयो ।