दाङ, वैशाख ८ गते ।
घोराही उपमहानगरपालिकाले आजदेखि नियमित रुपमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार उपमहानगरको नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेदेखि नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।
उहाँले एक सूचना जारी गरेर वैशाख ८ गते देखि शैक्षिक क्यालेन्डर अनुसार विद्यालय नियमित सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको दिनुभएको छ । वैशाख ८ गते देखि अनिवार्य विद्यालय सञ्चालन गर्न र सो को अनुगमन समेत हुने उहाँले सूचना मार्फत जानकारी दिनुभएको हो ।
देशभरका शिक्षकहरू आन्दोलनमा होमिदाँ सामुदायिक विद्यालयको भर्ना अभियान समेत अन्योल भएको छ । संस्थागत विद्यालयमा धमाधम भर्ना अभियान चलिरहेको बेला जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरू भने सुनसानको अवस्थामा छ । वार्षिक परीक्षाको रिजल्ट आएको लामो समयसम्म सामुदायिक विद्यालयमा भर्ना अभियान नचलेपछि अभिभावकहरू रुष्ट बन्न थालेका छन् ।
पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले शिक्षकहरू आन्दोलनमा होमिदा प्राइभेट विद्यालयहरूले मौकाको फाइदा उठाइरहेका बताउनुभयो । अहिले सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ, उहाँले भन्नुभयो, यता संस्थागत विद्यालयका शिक्षकहरू भने घरदैलो गरेर व्यापक रूपमा भर्ना अभियान सञ्चालन गरिरहनुभएको छ । यसले सामुदायिक विद्यालयमा भर्ना अभियानलाई कस्तो असर पर्ला ?
यसै पनि शिक्षकहरूले आफ्ना छोराछोरिहरुलाई प्राइभेट स्कुलमा पढाउँछन् , आफूले पढाउने स्कुलकै शिक्षामा विश्वास गर्दैनन् भन्ने आरोप छ उहाँले भन्नुभयो, यी यस्ता आरोपहरूलाई चिर्न आन्दोलनको स्वरूप परिवर्तन गरी भर्ना अभियानमा फर्किने पो हो कि । या प्राइभेट स्कुलको भर्ना अभियान पनि रोक्ने हो, बेलैमा शिक्षामुर्तिहरुले सोचौँ । नत्र प्राइभेट स्कुल सङ्ग मिलेमतो गरेको आरोप लाग्न पनि सक्छ । उहाँले वर्षामा धान नरोपे हिउँद कसरी बाली स्यहार्नु भनेर समेत प्रश्न गर्नुभएको छ ।