alliance khabar

आइतबार, बैशाख ०७, २०८२

रेसुङ्गा, चैत ७ गते । 

गुल्मीमा बिद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दै गएका छन् । भर्खरै नयाँ वर्षको दिन इस्मा गाउँपालिका–१ का दान बहादुर सारूको घर बिद्युत् सर्ट भएर आगलागी हुँदा क्षणभरमै ध्वस्त बन्यो । शरीरका लुगा बाहेक सबै गुमाएका सारू परिवार बिचल्लीमा परेको छ । त्यस्तै इस्मा गाउँपालिका–२ की विमला दर्जीको घर पनि गत चैत २६ गते बिद्युत् सर्ट भएर आगलागी हुँदा आँखै अगाडी खरानी बन्यो ।

आगोले साढे दुई तोलाको सुनको सिक्री र नगद तिस हजारसहित लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गत चैत २६ गते बिद्युत् सर्ट भएकै कारण आगलागी हुँदा मालिका गाउँपालिका–६ अर्जेका डिल्लीराज अर्यालको गोठसहितको कुखुरा फर्ममा आगलागी हुँदा सात सय कुखुरा मरेका थिए । परदेशबाट फर्किएर कुखुरा पालन गर्नुभएको डिल्लीराजका छोरा कमलले सात सय कुखुरा नष्ट भएपछि व्यावसायिक सपना खरानी बनेको बताउनुभयो ।

यो आर्थिक वर्षमा मात्रै बिद्युत् सर्ट भएर तीन घर र दुई गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले सबैभन्दा पहिला आगलागी हुनै नदिन व्यक्ति स्वयम सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारूले बिद्युत् सर्ट भएर पनि आगलागी भएकाले समयमै विद्युतीय तार र उपकरणको मर्मत गर्न सुझाव दिनुभयो । उहाँले आगलागी भए तत्काल नियन्त्रण वा उद्धारको काम गर्न प्रहरीसहित स्थानीय स्तरमा विपद् उद्धार समूह वा टोली आवश्यक रहेको बताउनुभयो ।

गत चैत महिनामा मात्रै बिद्युत् सर्टसहित आगलागीका ४० घटना भएका छन् । नजिकैको जङ्गलको आगो बस्ती पसेपछि इस्मा गाउँपालिका–१ हस्तिचौरकी ५० बर्षीया कमला कुवंरको घर नष्ट भयो । श्रीमान् खुम बहादुर कुवंरको मृत्यु भएको धेरै भएको थिएनन् । छ महिना नपुग्दै आगलागीले घर सकियो । घर नजिकैको जङ्गलमा आगो लागेको थियो । घर गोठसम्मै आउला भन्ने कुवंरलाई थिएन । तर, हावाले खरबारी हुँदै घर गोठसम्म आगो आइपुग्यो । कमलाले हारगुहार गर्दागर्दै आँखै अगाडी घर गोठ, दुई भैँसी, चार बाख्रा, कुखुरा, खाद्यान्न, लत्ताकपडा र नगद र गरगहनासहित सबै सम्पत्ति आँखै अगाडी खरानी बने । कुवंर परिवारसँग खाने, लगाउने, ओढ्ने ओछ्याउने केही पनि छैनन् । ‘शरीरका कपडा बाहेक खाने र लगाउने केही रहेन । दैवले असोजमा श्रीमानलाई लग्यो अहिले घर गोठ,’उहाँले भन्नुभयो,‘पीडा सहन नै मुस्किल परेको छ ।’

आगलागीले घरधनी कुवंर र छोरी बसन्तीसहित संरक्षणमा रहेका दुई बालिकाको बिचल्ली गरायो । संरक्षणमा रहेका लक्ष्मी पाण्डेयले कालिका निमाविको कक्षा ८ र राधिका पाण्डेयले कक्षा २ मा पढ्नुहुन्थ्यो । वार्षिक परीक्षा चलिरहेको बेला सबै किताव कापी र पोसाकहरू आगोमा खरानी बने । बसन्ती कालिका निमाविको शिक्षिका हुनुहुन्छ । घरमा ल्याएका विद्यार्थीका उत्तरपुस्तिक सहितका व्यक्तिगत तथा शैक्षिक सामग्री जलेर नष्ट भएका थिए ।

चैत महिनामा मात्रै गुल्मीमा हुरिबतास र आगलागी ८९ घटना भएका छन् । हुरिबतासका ४९ र आगलागीका ४० घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । भने आगलागीमा परेर १३ पशुचौपायको मृत्यु र पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीका कारण तीन घर र १५ गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट मात्रै ४९ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गा बहादुर सारूले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल