काठमाडौँ वैशाख ४ गते ।
सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले उत्पादन गरेको डेढ करोड बराबरको सिटामोल र जीवनजल बिक्री हुन नसकेको गुनासो आएको छ ।
पहिलाका वर्षको तुलनामा यो वर्ष कम बिक्री भएकाले दुई महिनादेखि डेढ करोड बराबरको सिटामोल र जीवनजल स्टक रहेको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले जानकारी दिनुभयो ।
स्टक रहेको सिटामोल र जीवनजल बिक्री वितरण गर्न आफूले पहल गर्दा पनि बिक्री नभएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग मन्त्रालयलाई बिक्री गर्दिन पहल गरिदिन पत्राचार गरेको उहाँका भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “हाम्रो तर्फबाट बिक्रीवितरणका लागि सक्दो पहल गरेका छौँ । हाम्रो मात्र पहलले नपुगेर उद्योग र स्वास्थ्य मन्त्रालयललाई समन्वय गरिदिन पत्राचार गरेका छौँ ।” मन्त्रालयको तर्फबाट प्रक्रियामा रहेको जवाफ आउने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “मन्त्रालयले प्रक्रियामा छौँ भन्दै आएको छ । अलि छिटो बिक्री भएमा नयाँ आर्थिक वर्षका लागि औषधी उत्पादन गर्न सहज हुने थियो । आर्थिक वर्ष सकिन लाग्यो अर्को आर्थिक वर्षमा त्यही अनुसार औषधी उत्पादन गर्नुपर्छ ।”
लिमिटेडले यो भन्दा पहिले लिमिटेडले सरकारी निकायसँग सम्झौता (जिटुजी)मार्फत बिक्रेतासँग प्रत्यक्ष सम्पर्क गरेर उत्पादन गरेका उत्पादन बिक्री गर्दै आएको थियो ।
लिमिटेडले दैनिक तीन लाख ३० हजार ट्याबले उत्पादन गर्दै आएको छ । जीवनजल ४८ हजार उत्पादन गदै आएको छ । अघिल्लो आर्थिक वर्षमा सिटामोल र जीवनजल सरकारी र प्राइभेट अस्पतालमा खपत हुँदै आएको थियो । अघिल्लो आर्थिक वर्षमा तीन करोड ट्याबलेट सिटामोल बिक्री भएको थियो । नयाँ आर्थिक वर्षमा उत्पादन बढाउने तयारी गरेको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षमा प्रेसर, सुगर, कोलेस्ट्रोल लगायतका दीर्घ रोग विरुद्धका औषधी उत्पादन गर्दै आएका छौँ ।
अहिले लिमिटेडले १२ वटा प्रोडक्ट उत्पादन गदै आएको छ । आगामी आर्थिक वर्षमा २० वटा प्रोडक्ट बनाउने लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधी खरिद प्रक्रिया अगाडि नबढाउँदा यस्तो समस्या निम्तिएको बताउनुहुन्छ । औषधी खरिद बिक्री किराना पसलबाट सामान किनेजस्तो नभएको डा. बुढाथोकीले टिप्पणी गर्नुभयो । सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियामा सहभागी भई कागजात पूरा भएमा लिमिटेडले नै टेन्डर पाउने डा.बुढाथोकीको भनाइ छ ।
मन्त्रालय स्थानीय उद्योगलाई सधै प्रोत्साहन गर्ने डा. बुढाथोकीले जिकिर गर्नुभयो । डा.बुढाथोकी भन्नुहुन्छ,“ मन्त्रालयले सधै घरेलु र स्थानीय उद्योगलाई प्रोत्साहन गर्छ । मन्त्रालय विधिमा चल्छ । उहाँको उत्पादन विदेशीको भन्दा सस्तो हुनेमा विश्वस्त छौँ ।सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियामा सहभागी भएर कागजात पूरा गर्नुभयो भने टेन्डर उहाँहरूले नै पाउनुहुन्छ त्यसमा दुई मत छैन । त्यसमा समावेश नभएर किराना पसलबाट समान किनेजस्तै भनेपछि यो नभएको हो ।”
यदि औषधी लिमिटेडले जिटुजी (सरकारी टु सरकारी) काम गर्नका लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले प्रतिबद्धता गरेमा वर्षभरी कुनै पनि औषधीको उत्पादन नरोकिने उहाँको ठहर छ ।