दमक, वैशाख ३ गते : नेपालको लोपोन्मुख जातीमध्येको एक पूर्वी नेपालको मेचे समुदायको प्रमुख चाड ‘बैशागु बथर’ को उपलक्ष्यमा मेचीनगर नगरपालिकाले नगरभित्र बुधवार सार्वजनिक बिदा दिएको छ । मेचीनगर नगरपालिका मेचे समुदायको प्रमुख बसोबास रहेको क्षेत्र हो ।
२०७८ को जनगणना अनुसार देशभरि करिब पाँच हजार १९३ जना रहेको मेचे समुदायले केही समयअघि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।
यसभन्दा अघि बिदा दिइएको रहेनछ यस पटकदेखि हामीले स्थानीय बिदा दिने निर्णय गरेका हौं, बुढाथोकीले भन्नुभयो । लोपोन्मुख जातिको सम्मान र उनीहरूको मौलिक संस्कृतिको प्रवर्द्धनमा पालिकाले आवश्यक कार्यक्रम पनि ल्याउनेछ, उहाँले भन्नुभयो ।
मेचे समुदायले यो चाडलाई नयाँ वर्षको सुरुवातमा मनाउने गर्छन् । प्रकृति, पशु, पूर्वज र देवी–देवताप्रतिको श्रद्धा प्रकट गर्दै यो पर्व मनाइने गरेको छ ।