alliance khabar

बुधबार, मंसिर १९, २०८१

काठमाडौँ, मंसिर १९ गते : जलवायु परिवर्तनले कृषिमा ठुलो असर गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अध्ययनबारे जानकारी गराइएको हो ।

नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको असर, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल नामक अनुसन्धान परियोजनाका प्रमुख प्रा.डा. प्रेमसागर चापागाईँले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा ठुलो असर गरेको बताउनुभयो ।

उहाँका अनुसार जलवायु परिवर्तनले आगामी दिनमा थप असर गर्ने अध्ययनले देखाएको छ । नेपालको मुख्यतः रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्की जिल्लाका २११ घरधुरीमा नमुनाको रूपमा गरिएको अध्ययनले गत ३० वर्ष यता तापक्रम उच्च वृद्धि भएको, वर्षाको मात्रा घटेको, आन्तरिक र बाह्य बसाइँ सर्नेक्रम बढेको र कृषि पशुपालनको दाँजोमा विप्रेषणको मात्रा बढ्दैगएको उहाँले बताउनुभयो ।

यो अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम र कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको पनि उहाँको भनाइ छ । अध्ययनका अनुसार तराईमा ३४ प्रतिशत घरपरिवार, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसमसम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको देखिएको छ ।

अध्ययनले तराईमा औषत वार्षिक ०.००४२ डिग्री सेन्टिग्रेड, पहाडमा ०.९२१ डिग्री सेन्टिग्रेड र हिमालमा ०.०२५४ डिग्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भइरहेको देखिएको पनि चापागाईँले जानकारी दिनुभयो । सोहीअनुसार वार्षिक रूपमा हिमाली क्षेत्रमा १३.१२ मिलिमिटर वर्षा, पहाडी क्षेत्रमा ९.३९ मिलिमिटर र तराईमा ५.०२ मिलिमिटर वर्षा घटेको देखिएको उहाँले जानकारी गराउनुभयो ।

जलवायु परिवर्तनकै कारण खडेरी बढिरहेको, मनसुनको ढिलाइका कारण बालीमा असर पुगेको, बाली बिरुवा फूल फुल्ने र फल लाग्ने प्रक्रियामा असर परेको, उत्पादन घटेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनको असरका कारण किसानहरू कृषि कर्म छाडेर वैदेशिक रोजगारतर्फ आकर्षित हुँदैगएको समेत अध्ययनले देखाएको चापागाईँले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्रमुख प्रा.डा. उमेश मण्डलले जलवायु परिवर्तनको विषय गम्भीर भएकाले मिडियाले गम्भीरतापूर्वक उठाउनुपर्ने बताउनुभयो । यसको असर कम गर्नमा अन्तर्राष्ट्रिय समुदायलाई पनि दबाब दिनुपर्ने उहाँको सुझाव छ ।

पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले आफूहरू विभागको तर्फबाट समय समयमा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गर्दैआएको बताउनुभयो । पत्रकारिता विभागले हरेक साता शुक्रबार नेपालका वरिष्ठ पत्रकारहरूसँग नियमित अन्तरक्रिया गर्दैआएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा एलायन्स अफ इन्टरनेशनल साइन्स अर्गनाइजेशन्स, बेइजिङका पदाधिकारी, पत्रकारिता विभागका प्राध्यापक तथा पत्रकारहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल