alliance khabar

बिहिबार, मंसिर १३, २०८१

काठमाडौं, मङ्सिर १३  गते : सरकारले गत आइतबारबाट शुल्क लिएर धरहरा चढ्नका  लागि खुला गरेपछि धरहराप्रतिको आकर्षण ह्वात्तै बढेको छ । यसअघि संविधान (राष्ट्रिय दिवस) को अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क धरहरा चढ्ने व्यवस्था गर्दैआएको सरकारले २०८१ मङ्सिर ९ गते आइतबारबाट शुल्क लिएर धरहरा चढ्न अनुमति दिएको हो ।

अन्तरिम सञ्चालक तथा व्यवस्थापन कार्यालयका प्रमुख महेश राईले धरहरा सार्वजनिक बिदाका दिनबाहेक शनिवार पनि खुला रहने  जानकारी दिनुभयो । धरहरा जाडो याममा बिहान १०ः३० देखि ४ बजेसम्म खुला रहने छ । उहाँले धरहरा सञ्चालक मन्त्रालयको निर्णयअनुसार शुल्क निर्धारण गरेको जानकारी दिनुभयो ।

प्रमुख राईका अनुसार धरहरा परिसर प्रवेश गरेको ५० रुपियाँ शुल्क निर्धारण गरेको छ । नेपाली नागरिकलाई धरहरा चढी अवलोकन (प्रवेश शुल्क समेत गरी) गरेको प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क निर्धारण गरेको छ ।  अपाङ्गता भएका, विद्यार्थी र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

रातो  र निलो कार्ड भएका फरक क्षमता भएका व्यक्ति, पत्रकार, कार्यालय पोषाकमा भएका कर्मचारी, सुरक्षाकर्मीलाई निःशुल्क चढाउने व्यवस्था गरेको छ । त्यस्तै, सार्क मुलुकका नागरिकलाई धरहरा चढी अवलोकन गरेको  प्रतिव्यक्ति पाँचसय रुपियाँ शुल्क निर्धारित गरिएको छ । व्यावसायिकबाहेक धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन खिंचेको प्रतिघण्टा पाँच हजारका दरले शुल्क निर्धारण गरिएको छ ।

धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गरेको प्रतिघण्टा पाँच हजार, धरहरा परिसर व्यावसायिक फोटोग्राफी छायाङ्कन शुल्क प्रतिघण्टा एक हजार रुपियाँका दरले लिने निर्णय गरेको छ । हाललाई धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । पछि समिति बनिसकेपछि भने पार्किङको शुल्क निर्धारण  गर्ने योजना रहेको राईले जानकारी दिनुभयो ।

शुल्क महँगो  भयो भन्ने जनगुनासोलाई कसरी सम्बोधन गर्नु हुन्छ भन्ने गोरखापत्र अनलाइनको प्रश्नमा राईले नयाँ समिति बनेपछि सम्बोधन गरेर नयाँ शुल्क निर्धारण हुन सक्ने बताउनुभयो । काठमाडौं उपत्यका सहजै नियाल्न सक्ने धरहरा ऐतिहासिक, धार्मिक, संस्कृतिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । यसको उचाई जमिनबाट ८३.५८ मिटर छ ।

२०७२ सालको विनासकारी भूकम्पले भत्किएको धरहरा २०७४ कात्तिक २७ को मन्त्रिपरिषद्को बैठकले तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिने निर्णयसँगै २०७५ असोज १४ गतेबाट निर्माण कार्य सुरु भएको थियो । निर्माण सुरु भएको ६ वर्षपछि मात्र सर्वसाधारणलाई खुला गरिएको हो ।

स्वरुप र मौलिकता उस्तै देखिए पनि नयाँ निर्माण गरिएको धरहरामा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिइएको छ । धरहराबाट दृश्यअवलोकन गर्न आउनेहरुलाई सहजरुपमा बार्दलीसम्म जानका लागि दुईवटा लिफ्ट जडान गरिएको छ ।

धरहराबाट काठमाडौंको दृश्य अवलोकन गर्न पुरानै शैलीमा बाल्कोनीबाट करिब डेढ सयभन्दा बढी मानिसले एकै पटकमा अवलोकन गर्न सक्ने क्षमता छ । धरहराको टावरभित्र विद्युत केबलिङ फायर फाइटिङका साथै फायर अलाम सूचना प्रवाह गर्न स्पिकर, सिसिटिभि क्यामरा जडान गरिएको छ । परिसरमा प्रवेश गर्ने र बाहिरिने गरी पाँचवटा ढोका रहेका छन् । दुईवटा टिकट काउन्टरसहित गार्ड घर  निर्माण गरिएको छ ।

धरहरा चढ्न आउने मानिसको चापलाई ध्यान दिँदै सोहीअनुरुपको संरचना निर्माण गरिएको छ । परिसरभित्र  निकै कलात्मक शैलीमा कोरिडोर र चारवटा प्रतीक्षालय निर्माण गरिएको छ । धरहराभित्र आवश्यक पर्ने सार्वजनिक शौचालय, सूचना कक्ष, चमेनागृह परम्परागत पाटी, स्थानीय समुदायको कुल पूजा गर्ने मन्दिरलगायतका संरचना निर्माण गरिएको छ । बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गमैत्री हुनेगरी धरहरा परिसरमा पूर्वधार निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल