Alliancekhabar

बुधबार, कार्तिक ०७, २०८१

तौलिहवा (कपिलवस्तु), कात्तिक ७ गते : प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न कपिलवस्तुको शिवराज नगरपालिकाले आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको हो ।

प्लास्टिकजन्य फूलमालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने, स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठुलो धनराशि बाहिरिने भएकाले प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न नगरपालिकाले निर्णय गरी सर्वसाधारणमा सुसूचित गराएको छ ।

नगरप्रमुख अजय थापाका अनुसार स्थानीय रूपमा उत्पादित विशेष गरी सयपत्री, गोदावरी, मखमलीलगायत फूल एवं सोबाट बनेका माला मात्र प्रयोग गर्न अनुरोध गरिएको छ । वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लास्टिकजन्य फूलमालाको उत्पादन, बिक्रीवितरण, ओसारपसार र उपभोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बजार अनुगमनका व्रmममा प्लास्टिकजन्य सामग्री बिक्रीवितरण भएको पाइएमा उक्त सामान जफत गरी प्रचलित कानुनबमोजिम जरिबाना हुने बताउनुभयो ।

वातावरणमैत्री र स्थानीय उत्पादनलाई प्रवर्धन गर्नसमेत टेवा पुग्ने भएकाले प्राकृतिक रूपमा उत्पादन भएको पुष्पगुच्छा फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्न/गराउन हुन नगर क्षेत्रका व्यापारी, व्यवसायी, उपभोक्ता, सरकारी, निजी, गैरसरकारी कार्यालय र आमनगरवासीमा अनुरोध गरिएको छ । प्लास्टिकजन्य फूलमालाले स्थानीय उत्पादनलाई समस्या बनाइरहेका बेला नगरपालिकाले गरेको यस निर्णयले व्यवसायीमा उत्साह थपिएको पुष्प व्यवसायी नक्कुल कामीले बताउनुभयो । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारण गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

यसैबीच धम्बोझी समाचारदाताका अनुसार बाँकेको कोहलपुर नगरपालिकाले तिहार नजिकिँदै गर्दा प्लास्टिकका फूल तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार प्लास्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध गरिएको हो । तिहारलगायतका चाडपर्वमा प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले सबै नगरवासीलाई अनुरोध गर्नुभएको छ ।  उहाँले भन्नुभयो, “प्लास्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले स्थानीय कृषकबाट उत्पादित फूलले समेत बजार नपाउने तथा ठुलो धनराशि बाहिरिने जस्ता समस्या देखिने गरेका छन् । त्यसैले कोहलपुर नगरपालिकासहितका स्थानीय कृषकले उत्पादन गरेका सयपत्री तथा मखमलीलगायतका फूलको प्रयोग गर्न अनुरोध गर्दछौँ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल