alliance khabar

आइतबार, कार्तिक ०४, २०८१

ताप्लेजुङ, कात्तिक ४ गते ।

पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो ।

अविरल वर्षासँगै इलामको माईखोलामा आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर पोल (खम्बा) मा क्षति पु-याएपछि गत असोज १२ गतेदेखि ताप्लेजुङका आधा दर्जन आयोजनाको विद्युत् उत्पादन ठप्प भएको हो । असोज १२ पछि सबैभन्दा ठुलो २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ ।

उक्त आयोजना र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने काबेली खोलाबाट उत्पादन काबेली ‘बी–१’ र क्यासकेट दुवै आयोजना अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको छ । आयोजनाका स्थानीय कर्मचारी डिल्ली सुवेदीका अनुसार प्रसारण लाइनमा आएको समस्याकै कारण उत्पादन ठप्प भएको हो ।

यस्तै रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प छ । आयोजनाका स्थानीय कर्मचारी टीकाराम मिश्रका अनुसार ९.९ मेगावाट क्षमता भएको आयोजनाबाट उत्पादन ठप्प बनेको हो । त्यस्तै ९.७ मेगावाट क्षमताको अपर इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यी दुवै जलविद्युत् आयोजना ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादन गरिएका हुन् ।

यसै गरी जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका भई बग्ने फावाखोलाबाट उत्पादन गरिएका दुई वटा जलविद्युत् आयोजनाको पनि उत्पादन ठप्प भएको छ । युनिटेक हाइड्रोपावर कम्पनीको स्वामित्वमा उत्पादन ५.८ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको पाँच मेगावाट क्षमताको फावाखोला जलविद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको विद्युत् ठप्प भएको छ ।

यसरी प्रसारण लाइनका कारण निजी क्षेत्रको लगानी र पहलमा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प हुँदा दैनिक लाखौँ रुपियाँ आम्दानी गुमाइरहनु परेको उत्पादक कम्पनीले जनाएका छन् । काबेली बी–१, इँवाखोला जलविद्युत् आयोजनालगायतले अघिल्लो वर्षको वर्षायाममा बाढीपहिरोले आयोजनाका संरचनासमेत क्षति गर्दा निकै नोक्सानी बेहोरेका थिए । यता नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादक कम्पनीले संयुक्त रूपमा बाढीले क्षति गरेको प्रसारण लाइनको टावर पुनर्निर्माण गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल